Latest News

पोखराको उपमेयर अस्वीकार गरेकी मञ्जुलाई मेयरको टिकट, सुन चोर आरोपित पौडेल आउट !

Nepalese Times April 24, 2022 (1 Year ago)    1131 Views

काठमाडौं । नेकपा एमालेले पोखराको मेयर र उपमेयरको उम्मेदवारे पुनर्विचार गर्ने भएको छ । मेयरमाथि सुन चोरी गरेको आरोप र उपमेयरले पनि उम्मेदवारी अस्वीकार गरेपछि अध्यक्ष केपी शर्मा ओलीले त्यसैअनसारको तयारी थालेका छन् ।

अध्यक्ष ओलीले उपमेयरको टिकट अस्वीकार गरेकी मञ्जुदेवी गुरुङलाई मेयरको टिकट दिने तयारी गरेको नेकपा एमालेका एक नेताले बताए । मेयरका उम्मेदवार दीप पौडेल भने मेयरको दौडबाट आउट भएका छन् ।

केही समयअघिको गहना चोरी गरिरहेको सीसीटिभी फुटेज बाहिरिएसँगै नेकपा एमालेभित्रैबाट चर्को दबाब आएपछि एमाले अध्यक्ष ओलीले उनलाई आउट गरेर मञ्जुलाई मेयरको उम्मेदवार बनाउन खोजेको स्रोतले जनाएको छ ।

एउटा सिसीटिभी फुटेजमा पौडेलले गहना किन्दै गर्दा कुनै वस्तु गोजीमा राखेको जस्तो देखिन्छ । एमाले स्रोतले भने सो भिडिओको कारण भन्दा पनि हेबिवेट उम्मेदवार दिन दबाब परेकाले पार्टीले पुनः विचार गर्न लागेको बताएको छ ।

पोखराको मेयरमा उम्मेदवार बनाउन लागिएका दीपक पौडेलको सन्दर्भमा स्थानीय कार्यकर्तादेखि पनि पार्टीका शीर्ष नेताहरूबाट समेत पुनर्विचार गर्न दबाब परेपछि एमाले अध्यक्ष ओली परामर्शमा जुटेका छन् ।

प्रदेश २ लगायत कतिपय प्रदेशका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारकै विषयमा विवाद सल्टाउनु परेकाले पोखराको बारेमा सोमबार बिहानसम्म एउटा निर्णय हुन एमाले स्रोतले जनाएको छ ।

उनको विकल्पमा हालकै उपमेयर मन्जु गुरुङलाई मेयर र युवा नेताहरू रश्मी आचार्य वा दिलिप न्यौपानेमध्ये एकलाई उपमेयर बनाउँदा जित सहज हुने सुझाव कतिपय नेताले दिएका छन् ।

गुरुङले आफू मेयरको पनि दाबेदार नरहेको र उपमेयरमा उम्मेदवार नबन्ने बताइसकेकी छन् । यद्यपि सर्वसम्मत रुपमा पार्टी आग्रह गरे उनी मेयरको उम्मेदवार बन्न तयार छिन् ।

सचिवालय बैठकले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यलाई मेयर र उपमेयरमा हालकै मन्जु गुरुङलाई टिकट दिने निर्णय गरेको थियो । तर, पोखराजस्तो देशको ठूलो र एमालेको गढ मानिएको महानगरमा उम्मेदवारी छनौट गर्दा ध्यान नदिइएको भन्दै पार्टीमा असन्तुष्टि छ ।

गण्डकी प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको तिक्ततापूर्ण गुटबन्दीको असर पोखराको उम्मेदवारी छनौटमा देखिएको नेताहरूको भनाइ छ । मेयरका लागि सबैभन्दा बलिया उम्मेदवार प्रदेशसभा सदस्य कृष्ण थापा भए पनि उनी गुटको शिकार बनेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस