Latest News

सकियो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक, गर्यो यस्तो महत्वपूर्ण निर्णय

Nepalese Times April 24, 2022 (1 Year ago)    1116 Views

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई सुम्पिने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

बैठकले महानगरपालिकाको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेपनि अन्ततः देउवालाई नै टिकट वितरणको अधिकार प्रत्यायोजन गरिएको हो ।

यस्तै उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय बोर्डले वितरण गर्ने वैधानिक व्यवस्था भएकामा त्यो अधिकार पनि खोसेर देउवामा प्रत्यायोजित गरिएको छ । अब देउवाले पार्टीका तर्फबाट लड्ने मेयर तथा उपमेयरको उम्मेदवार नेताहरूसँगको परामर्शको आधारमा टुंगो लगाउनेछन् ।​

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर पदमा उम्मेदवार उठाउने छ भने वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पदमा उम्मेदवार उठाउने छ । यस्तै उपमहानगरतर्फ धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढीमा मेयर उम्मेदवार उठाउने छ । यसैगरी जितपुर सिमरा, घोराही र हेटौडामा उपमेयर भाग पाएको छ ।

त्यस्तै नेपाली कांग्रेसले उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय समिति गठन गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय बोर्ड गठन गरेको हो।

सभापति शेरबहादुर देउवासहित पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल संसदीय बोर्डको सदस्य छन्। कांग्रेस विधानअनुसार पदाधिकारीसहित २५ सदस्यीय केन्द्रीय संसदीय बोर्ड रहने व्यवस्था छ। सभापति देउवाले कार्यसम्पादन समितिबाटै उम्मेदवारलाई टिकट दिने तयारी गरेपछि आलोचना भइरहेको थियो।

संसदीय समितिमा सभापति देउवाले केन्द्रीय सदस्यमध्ये ११ जनालाई मनोनीत गर्न सक्ने व्यवस्था छ। कांग्रेस विधानमा महानगरको टिकट बाँड्ने अधिकार केन्द्रीय संसदीय बोर्डलाई छ। कांग्रेसले स्थानीय तह चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन केन्द्रीय संसदीय बोर्ड गठन गरेको हो।

प्रतिक्रिया दिनुहोस