Latest News

भरतपुरमा रेनुविरुद्द बागी उम्मेदवार उठाउने कांग्रेस असन्तुष्ट समूहको घोषणा, गठबन्धनमा खैलाबैला !

Nepalese Times April 24, 2022 (2 Year ago)    609 Views

चितवन – नेपाली कांग्रेसकाे असन्तुष्ट समूहले भरतपुर महानगरपालिकाको मेयरमा पूर्वसांसद जग्गनाथ पाैडेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ  । गठबन्धनले महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिएपछि असन्तुष्ट समूहले यस्तो घोषणा गरेको हो।

नारायणगणको कमलनगरस्थित कांग्रेस पार्टी कार्यालयमा आइतबार बसेको असन्तुष्ट पक्षको भेलाले पाैडेललाई कांग्रेसकाे तर्फबाट बागी उम्मेदवार बनाउने निर्णय गरेको हाे । पाैडेल राष्ट्रिय सभाका पूर्वसांसद हुन् । पाैडेलले महानगरकाे मेयरमा आकांक्षा समेत राखेका थिए ।

पाैडेललाई पार्टीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, निवर्तमान जिल्ला सभापति, क्षेत्रीय सभापति, तथा विभिन्न वडाका सभापतिहरूले समर्थन गरेको कांग्रेसका नेता उद्वव लाेहनीले जानकारी दिए । उनलाई महासमिति सदस्य मिना खरेलले प्रस्ताव तथा पूर्वसांसद भीमबहादुर श्रेष्ठले समर्थन गरेका छन् ।

मेयरको उम्मेदवार बन्न लागेका नेता पाैडेलले कांग्रेस बचाउनका लागि मेयरमा उम्मेदवारी दिन लागेको बताए । सोमबार दिउँसो १ बजे पार्टीको झण्डासहित भरतपुर चाैबिसकाेठीबाट नेता कार्यकर्तासहित उम्मेदवारी दर्ता गराउने उनले बताए ।

यस्तै सत्तारुढ दलहरुबीच केन्द्रमा तालमेलको सहमति भएपनि जिल्लाहरुमा भने चर्को विवाद भइरहेको छ । विभिन्न जिल्लाहरुमा अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतदलका कार्यकर्ताहरु रुष्ट बनिरहेका छन् ।

पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् ।

सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ । यसमा असन्तुष्टि जनाउँदै उनीहरुले पदाधिकारीहरुलाई पार्टी कार्यलयमा थुनेका हुन् ।

आफूहरु थुनिएको कांग्रेसका जिल्ला सचिव भानु ढकालले बताएका छन् । भित्र बैठक चलिरहेको र बाहिर कार्यकर्ताहरु आएर थुनिदिएका भन्दै उनले कार्यकर्ताहरुले आफूहरुलाई बाहिर निस्कन नदिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस