Latest News

गाउँपालिका अध्यक्षमा २४ वर्षिय युवाले गरे उम्मेदवारी दर्ता

Nepalese Times April 24, 2022 (1 Year ago)    651 Views

पोखरा । कास्कीको मादी गाउँपालिका प्रमुख पदका लागि अटेरी उम्मेदवारी दर्ता भएको छ । २४ वर्षिय सुनिल ढकालले अध्यक्ष पदका लागि अटेरी उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियान पोखरा महानगर प्रमुखमा उम्मेदवारी दिएर गनेस पौडेलले सुरुआत गरेका थिए । हाल देशभर २ सय भन्दा बढिको अटेरी उम्मेदवारी परिसकेको छ ।

स्थानीय तह दलरहित बनाउनुपर्ने माग सहित सुरुआत भएको यो अभियान अहिले चुनाव लक्षित कार्यक्रममा लागेको छ । पोखराका विभिन्न वडामा अभियानका अभियन्ताहरु छलफलका लागि जुटी रहेका छन् ।

यसअघि गनेस पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।लेखकसमेत रहेका उनी अहिले राजनीतिक गतिविधिमा सक्रिय भएका हुन् । अटेरी युवा अभियान’ चलाईरहेका उनले पोखरा महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

अटेरी उम्मेदवार तथा अभियन्ताले पालना गर्नुपर्ने नियम :

१. नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो । मुलुकको यो पहिचान निर्माणमा प्राणको आहुती दिने सबै खाले आन्दोलनका सम्पूर्ण सहिदहरू प्रति श्रद्धाभाव देखाउनु पर्नेछ । कुनै पनि औपचारिक कार्यक्रम सहिदहरूप्रति सम्मानपूर्वक मौन धारण गरेर मात्रै सुरु गर्नु पर्नेछ ।

२.संविधानवाद अटेरी अभियानको पहिलो सर्त हो । गणतन्त्र, संघीयता, धर्मनिपेक्षता, समानुपातिक र समावेशी लोकतन्त्र जस्ता संविधानका आधारभूत बिषयमा विवादास्पद वा परिस्कारवादी अभिव्यक्ति दिनु हुँदैन ।

३. राष्ट्रको गरीमा तथा सार्वभौमिकतामा आँच पु¥याउने खालका कुनै पनि गतिविधि गर्नु हुँदैन, कुनै पनि औपचारिक वा अनौपचारिक जमघटमा तथा सामाजिक सञ्जालमा समेत टिप्पणी गर्नु हुँदैन ।

४. कुनै पनि व्यक्तिको जातीय, धार्मिक, पारम्परिक, साँस्कृतिक, लैंगिक वा अन्य कुनै प्रकारको पहिचानलाई अपमान गर्ने गरी अभिव्यक्ति राख्नु वा क्रियाकपाल गर्र्नु हुँदैन । यौनिक पहिचान, पेशा–व्यवसाय, शारिरिक फरक क्षमता आदिको आधारमा कसैको अपमान हुने गरी कुनै पनि अभिव्यक्ति दिनु हुँदैन ।

५. अभियानको प्रचार–प्रसारमा कुनै खाले जिम्मेवारी लिएको व्यक्ति तथा अभियान अन्तरगतको उम्मेदवार समाजको नजरमा हुन्छ । चुनावको अवधिसम्म आफ्नो सामाजिक सञ्जालको खातामा अभियानलाई असर गर्न सक्ने अन्य वैयक्तिक विचार, चित्र, भिडियो वा अडियो पोष्ट गर्नु हुँदैन ।

६. कुनै पनि जमघट वा कार्यक्रममा कुनै पनि बहानामा बालबालिकालाई ल्याउनु हुँदैन ।

७. अभियानको यौटा मुख्य उद्देश्य स्थानीय तहको निर्वाचनलाई दलीय नबनाउन प्रयत्न गर्नु हो । तर यसको अर्थ हामी वहुदलीय व्यवस्थाको विरोधी होइनौ । हामी दलविहिन लोकतन्त्रको कल्पना गर्न सक्दैनौँ । हाम्रा अभियन्ता तथा उम्मेदवारले कुनै दल वा उम्मेदवारको खराब अभ्यास र क्रियाकलापको विरोध गरिरहँदा बहुदलीय लोकतन्त्रको विरोध भने गर्नु हुँदैन ।

(संसारका धेरै उन्नत लोकतन्त्रमा स्थानीय तहको चुनाव दलीय प्रतिस्पर्धाका आधारमा नभई स्वतन्त्र रुपमा हुन्छन् । राजनीतिक दलले आफ्नो उम्मेदवार त उठाउन सक्छन् तर आफ्नो दलको चुनाव–चिन्हको प्रयोग गर्न पाउँदैनन् ।)

८ . उम्मेदवारी दर्ता गराइसकेपछि चुनावको दिन अर्थात बैशाख ३० गतेसम्म कुनै पनि उम्मेदवारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण गर्नु हुँदैन । सकेसम्म आफ्नो निर्वाचन क्षेत्र समेत छोडेर जानु हुँदैन ।

९ . अटेरी अभियान अन्तरगतका हरेक उम्मेदवारले आफ्नो मतदाता वा अन्य नेपाली नागरिकले समेत मागेको खण्डमा आफ्नो बारेको कुनै पनि सूचना दिनु पर्नेछ । तर यसरी सूचना दिदाँ आफूसम्बद्ध अन्य व्यक्तिको गोपनीयताको अधिकारलाई हनन गर्न पाइने छैन ।

१० . असंलग्न परराष्ट्र नीति हाम्रो मुलुकको वैदेशिक नीति हो । अभियानका क्रममा कुनै पनि मुलुकको नाम तोकेर विरोधी विचार सम्प्रेषण गर्नु हुँदैन । कुनै पनि मुलुक वा त्यहाँका जनताको सार्वमौमिकतामा आँच आउने वा तिनको अपमान गर्ने प्रकारको अभिव्यक्त दिनु वा क्रियाकलाप गर्नु हुँदैन ।

११ . अभियानप्रति आर्थिक, भौतिक र नैतिक रुपमा निष्ठावान् हुनुपर्नेछ । चुनाव प्रचार प्रसारको लागि निर्वाचन आयोगले तोकेको रकमको पनि २५ प्रतिशत भन्दा धेरै रकम खर्चिन पाइने छैन ।

१२ . शान्तपूर्वक बाँच्न पाउने नागरिक अधिकार कुण्ठित गरी माइकिङ गर्ने, होहल्ला गर्ने, नाराबाजी सहितको र्‍याली गर्ने, आमसभा गर्ने जस्ता काम गर्नु हुँदैन । र्‍याली गर्नै पर्ने भएमा मौन र्‍याली वा साइकल र्‍याली गर्न सकिनेछ । पोस्टर टाँस्ने, होर्डिङ बोर्ड बनाउने जस्ता काम गर्नु हुँदैन ।

१३ . घरदैलो पूर्णतया अनैतिक प्रचार शैली हो । यसले व्यक्तिको गोपनियताको हक हनन गर्छ । शान्तपूर्वक बाँच्न पाउने अधिकारलाई अपमान गर्छ । त्यसैले अभियानका सदस्यले कार्यकर्ता बटुलेर घरदैलो गर्नु हुँदैन । तर उम्मेदवार वा अभियन्ताको आफ्नै छरछिमेकमा छिमेकीको हैसियतमा एकलै पुगेर चुनावी कुराकानी गर्न यसले बन्देज गर्ने छैन । अन्य चुनावी प्रचार प्रसार शैली प्रयोग गर्न नसकिने ग्रामीण क्षेत्रमा यो बुँदा वाध्यकारी हुने छैन ।

१४. अटेरी अभियानको चुनावी घोषणापत्रसँग बाझिने गरी कुनै पनि अभिव्यक्ति दिनु वा नयाँ योजना राख्नु हुँदैन । “आफ्नो घोषणापत्र अनुसारका काम गर्नेछु नभए बिचैमा राजिनामा दिनेछु” भनेर प्रतीज्ञा गर्नु पर्नेछ ।

१५. “निर्वाचन जितेपछि मैले भ्रष्टाचार गर्दिनँ, अनियमितता गर्दिनँ” भनेर सार्वजनिक घोषणा गरेको भिडियो बनाई आफ्नो सामाजिक संजालमा अनिवार्य राख्नु पर्नेछ । भिडियोमा बोल्ने भाषा अटेरी अभियानले तोकेबमोजिम हुनुपर्नेछ ।

१६. अभियानको चुनावी गतिविधिमा सरिक भएका अभियन्ता तथा चन्दा वा सहयोग दाताले समेत ‘सहयोग वापत कुनै पनि प्रकारको व्यक्तिगत लाभ र स्वार्थ राख्ने छैन’ भन्ने मौखिक प्रतीज्ञा गर्नु पर्नेछ ।

१७. ‘अटेरी अभियान’को लागि वा उम्मेदवारलाई व्यक्तिगत रुपमा आएको सहयोगको सम्पूर्ण हरहिसाब दुरुस्त राख्नु पर्नेछ । चन्दादाताको व्यक्तिगत परिचय खुलाउनु हुँदैन तर वहाँहरुलाई अभियानले तोकेबमोजिमको कोड नम्बर दिनु पर्नेछ । सोही कोड अनुसारले आम्दानी तथा खर्च विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नु पर्नेछ । आम्दानीभन्दा खर्च धेरै भएको विवरण पेश गर्न पाइने छैन ।

१८ . माथिका बुँदाहरू बाहेक, निर्वाचन आयोगले जारी गर्ने आचार संहिताको पूर्ण पालना गर्न प्रतिबद्ध हुनु पर्नेछ । अटेरी अभियान यौटा आन्दोलन हो, राजनीतिक दल होइन । अभियानमा जोडिएका कुनै पनि उम्मेदवारलाई अभियानले उठाएको होइन, सबै उम्मेदवार आफ्नै विवेकले स्वतन्त्र रुपमा उठेका हुन् भन्ने कुरा बिर्सनु हुँदैन । उम्मेदवार तथा अभियन्ताका कमजोरीहरू व्यक्तिगत हुनेछन्, सबलता र सहकार्य मात्रै अभियानका हिस्सा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस