Latest News

कांग्रेस नेता पौडेलले भरतपुरको मेयरमा उम्मेदवारी दिने, रेनु दाहाल तनावमा

Nepalese Times April 24, 2022 (1 Year ago)    1247 Views

काठमाडौं । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

गठबन्धन र तालमेलका क्रममा भरतपुर महानगरको मेयर पुनः माओवादीलाई नै दिने निर्णयमा असन्तुष्ट रहेका चितवन कांग्रेसका नेता कार्यकर्ताहरूको भेलाले पौडेललाई स्वतन्त्ररूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि बागी उठ्ने घोषणा गरेका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटालगायतले पौडेलको उम्मेदवारीमा समर्थन जनाएका छन् ।उनीहरूले सोमबार चौबीसकोठी चोकमा जम्मा भएर जुलुससहित निर्वाचन कार्यालयमा गई उम्मेदवारी दर्ता गर्ने जनाएको छ । पौडेल २०५४ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए ।

यस्तै सत्तारुढ दलहरुबीच केन्द्रमा तालमेलको सहमति भएपनि जिल्लाहरुमा भने चर्को विवाद भइरहेको छ । विभिन्न जिल्लाहरुमा अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतदलका कार्यकर्ताहरु रुष्ट बनिरहेका छन् ।

पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् ।

सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ । यसमा असन्तुष्टि जनाउँदै उनीहरुले पदाधिकारीहरुलाई पार्टी कार्यलयमा थुनेका हुन् ।

आफूहरु थुनिएको कांग्रेसका जिल्ला सचिव भानु ढकालले बताएका छन् । भित्र बैठक चलिरहेको र बाहिर कार्यकर्ताहरु आएर थुनिदिएका भन्दै उनले कार्यकर्ताहरुले आफूहरुलाई बाहिर निस्कन नदिएको बताएका छन् ।

यस्तै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको तयारी समिति बनाएको थियो। सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ नारा दिइएको संकल्पमा काँग्रेसले शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार, कृषि, रोजगारी, उद्यमलगायतमा जोड दिएको छ ।

कांग्रेसले घोषणा पत्रमार्फत जनतालाई अनावश्यक सपना नबाँड्ने बताएको छ। उसले घोषणा पत्रमा आफूले गर्न नसक्ने काम पनि उल्लेख गर्ने भएको छ। घोषणा पत्रमा समेट्ने विषयवस्तु कांग्रेसले विज्ञहरुसँग सुझाव लिएको थियो। कांग्रेसले महानगरपालिकाहरुमा उम्मेदवार टुंगो लगाउन आइतवारै कार्य सम्पादन समितिको बैठक पनि डाकेको छ।

यस्तै नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी रहेको जनाएको छ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको सङ्कल्प प्रकाशित गर्दै काँग्रेसले एमाले र नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतबाट जन्मिएका पार्टी भएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस