Latest News

थप यी २ सांसदले पनि दिए राजिनामा

Nepalese Times April 24, 2022 (2 Year ago)    564 Views

विराटनगर – प्रदेश नम्बर–१ का नेकपा (एमाले)का सांसद गोपालचन्द्र बुढाथोकी र काजिमान कागतेले पदबाट राजीनामा दिएका छन् । उनीहरूले आज प्रदेशसभा सचिवालयमा राजीनामापत्र बुझाएका हुन् ।

बुढाथोकी झापाको मेचीनगर नगरपालिका र कागते इलामको सूर्योदय नगरपालिको मेयर पदमा प्रतिस्पर्धा गर्दै छन् । संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले दुवै सांसदको राजीनामा स्वीकृत भएको बताए ।

बुढाथोकी झापा क्षेत्र नम्बर–१ ‘ख’ र कागते इलाम क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित भएका थिए ।

बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।

आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् । एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले स्थापितलाई उठाउने निर्णय गरेको हो ।

तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमालेका एक नेताले बताए । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

त्यस्तैभरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिई सकेका छन्।

उनलाई नेकपा एमालेले उक्त क्षेत्रको मेयरको रुपमा सर्वसम्वत उम्मेदवार सिफारिस गरेको थियो ।  वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन्।

निर्वाचन आयोगले बनाएको आचार संहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ। चितवनको क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष ३ महिना बागमती प्रदेशसभा सदस्यको रुपमा रहे।

प्रतिक्रिया दिनुहोस