Latest News

पार्टी परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरमा दिए स्वतन्त्र उम्मेदवारी

Nepalese Times April 24, 2022 (2 Year ago)    610 Views

काठमाडौं । शनिबार मात्रै जनता समाजवादी पार्टी त्यागेको घोषणा गरेका उमेश यादवले महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्।

विराटनगर महानगरको मेयरमा टिकट नपाउने भएपछि उनले पार्टी परित्यागको घाषणा गरेका थिए । उनले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेका उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी मेयर पदमा दाबी गर्दै गठबन्धनको नाममा मेयर छोड्न नहुने पक्षमा थिए। २०७४ को निर्वाचनमा जसपाबाट महानगर मेयर लडेका यादव तेस्रो भएका थिए।

महानगरमा मेयरमा आफूहरु एक्लै लड्दा पनि जित्ने अवस्थामा जसपाको नेतृत्वले गठबन्धन गरेर अन्याय गरेको भन्दै उनले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

अहिलेसम्म विराटनगर महानगरपालिकाको वडा नम्बर ८, ९ र १० मा उम्मेदवारी दर्ता भएको छ। जसमध्ये वडा नम्बर ९ मा नेपाल सद्भावना पार्टीका किशोरकुमार सलवारले वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

यस्तै वडा नम्बर १० मा स्वतन्त्र उम्मेद्वार माधवराज वाग्ले र वडा नम्बर ८ मा पनि स्वतन्त्र उम्मेद्वार फूल महमदले उम्मेखवारी दिएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार १० नम्बर वडामा २ जनाले र वडा नम्बर ९ मा १ जनाले वडा सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन्।

यस्तै जनकपुरधाम उपमहानगरपालिकामा पनि अहिले उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन् । पहिलो उम्मेदवारको रूपमा नेकपा एमालेबाट बागी उठेका उमेश चौधरीले उपमेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उपमेयरमा उम्मेदवारी दर्ता गराएका चौधरीको क्रम संख्या १ रहेको छ । चौधरीले एमालेबाट टिकट नपाएपछि बागी भएर उम्मेदवारी दर्ता गराएका छन् ।

चौधरीले पार्टीमा पुँजीपति हाबी भएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिए । आफू निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताए ।

यस्तै बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।

आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् । एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस