Latest News

ललितपुरमा कांग्रेस र माओवादीबीच मात्रै चुनावी तालमेल, एकीकृत समाजवादी पर्यो हेरेको हेरै !

Nepalese Times April 24, 2022 (2 Year ago)    543 Views

ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गर्ने भएका छन्। गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख नै कांग्रेसले लिएको छ।

महालक्ष्मी नगरपालिकाको प्रमुख नेकपा माओवादी केन्द्रलाई र उपप्रमुख कांग्रेसले लिएको छ। कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष कांग्रेसले लिएको छ।

बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ। महाँङ्काल गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ।

ललितपुर महानगरमा भने मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने यसअघि नै सत्तागठबन्धनमा सहमति भएको थियो।बागमती प्रदेश कांग्रेस सभापति ईन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्रीबीच कांग्रेस र माओवादीबीच मात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो।

त्यस्तै कांग्रेस र माओवादीले मात्रै चुनावी तालमेल गरेकोमा नेकपा एकीकृत समाजवादीले भने विरोध गरेको छ।पार्टीका ललितपुर सहईन्चार्ज अमृत तिमल्सिनाले कांग्रेस र माओवादीले अनावश्यक दम्भ देखाएकोले आफूहरूले विरोध गरेको बताए।

‘गठबन्धनको व्यवहारअनुसार निर्णय भएन। यो अराजनीतिक व्यवहार भयो। हामी सबै स्थानीय तहमा उम्मेदवारी दिन्छौं। ललितपुर महानगरको हकमा के गर्ने छलफल हुँदैछ,’ उनले  भने, ‘कांग्रेस र माओवादीले जुन खाले दम्भ देखाए हामी त्यो परास्त गर्दैछौं।’

प्रतिक्रिया दिनुहोस