काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभरका पालिकाहरुमा उम्मेदवारी दताए सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा पनि अहिले उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन् ।
पहिलो उम्मेदवारको रूपमा नेकपा एमालेबाट बागी उठेका उमेश चौधरीले उपमेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा उम्मेदवारी दर्ता गराएका चौधरीको क्रम संख्या १ रहेको छ । चौधरीले एमालेबाट टिकट नपाएपछि बागी भएर उम्मेदवारी दर्ता गराएका छन् ।
चौधरीले पार्टीमा पुँजीपति हाबी भएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिए । आफू निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताए ।
यस्तै बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।
आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् । एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले स्थापितलाई उठाउने निर्णय गरेको हो । तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमालेका एक नेताले बताए ।
शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरको टिकट दिएको हो । डंगोल पूर्व मिस नेवाः हुन् । उनले मेयरमा उम्मेदवारी दिने घोषणा गर्दै घोषणा पत्रसमेत सार्वजनिक गरेकी थिइन् ।
यस्तै यो पटक सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयर पदमा टिकट पाएकी छिन् । कांग्रेस नेता प्रकाशमान सिंह पत्नीसमेत रहेकी उनलाई यो पटकको चुनावमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को पनि साथ रहेको छ ।