Latest News

एमालेबाट विराटनगरको मेयरमा उम्मेदवारी दिन अन्तिम समयमा बरालको ‘इन्ट्री’, को हुन् बराल ?

Nepalese Times April 24, 2022 (2 Year ago)    1076 Views

काठमाडौं । देशभर उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भइसक्दा अन्तिम समयमा नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर टुंगो लगाएको छ ।

अन्यत्र धेरैतिर उम्मेद्वार टुंगो लागिसक्दा पनि नेकपा एमालेले विराटनगर महानगरमा उम्मेद्वार टुंगो लगाउन सकेको थिएन । अन्तिम समयमा केन्द्रीय नेताहरूले मेयरमा दाबेदारी पेश गरेपछि एमालेलाई विराटनगरको मेयर टुंग्याउन सकस भएको हो।

आइतबार बस्ने केन्द्रीय सचिवालय बैठकले महानगर उम्मेद्वार टुंगो लगाउनुअघि एमालेका पुराना नेता केन्द्रीय सदस्य गुरू बराल, केन्द्रीय सदस्य जीवन घिमिरेले मेयरमा दाबी गरेका छन्। यसअघि महानगर कमिटीबाट नाम सिफारिस गर्नेबेलामा घिमिरेले आफ्नो दाबी पेश गरे पनि बरालले भने पेश गरेका थिएनन्।

तर, केन्द्रले उम्मेद्वार छान्ने प्रक्रिया सुरू गरेपछि भने बरालले पनि दाबी थालेका थिए। गएको राष्ट्रिय सभा निर्वाचनमा गोला तान्दा कांग्रेसका गोपाल बस्नेतसँग हारेका नेता बरालको दाबी अघि आएपछि अध्यक्ष केपी ओली लगायतका नेताहरु छलफलमा जुटेको स्रोतको भनाइ छ।

पूर्व सांसद बराल अध्यक्ष ओलीका विश्वासपात्र हुन्। अध्यक्ष ओलीले पनि विराटनगरमा ‘सिनियर नेताहरू उम्मेदवार बन्नुपर्ने’ बताएको एमाले स्रोतको भनाइ छ।

गुरू बराल, लालबाबु पण्डित वा विनोद ढकाल मध्ये कोही एक जना अघि आइदिए हुन्थ्यो भन्ने अध्यक्षको विचार रहेको भन्दै एक नेताले त्यही प्रयास भइरहेको बताए ।

यद्यपि एमाले नेता विनोद ढकाल, प्रदेश अध्यक्ष देवराज कार्की, स्थायी कमिटी सदस्य हिक्मत कार्कीलगायत नेताहरू विराटनगरमा महानगर अध्यक्ष सागर थापालाई अघि सार्ने पक्षमा छन्।

यस्तै दश बुँदे पक्षधर नेताहरू भने प्रदेशका पूर्वमन्त्री जीवन घिमिरेलाई अघि सार्नुपर्ने बताउँदै आएका छन्। तर, महानगरमा ओली समूहकै व्यक्तिले उम्मेद्वारी पाउने निश्चितप्रायः छ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले विराटनगरमा गठबन्धनका तर्फबाट प्रमुख पदको उम्मेद्वार कांग्रेसले पाउने सहमति भइसकेको छ भने उपप्रमुखमा जनता समाजवादीले पाउने निश्चित भएको छ। एमालेको मुख्य प्रतिष्पर्धा गठबन्धनसँगै हुनेछ। गठबन्धनले पनि उम्मेद्वार टुंगो लगाइसकेको छैन।

विराटनगरमा एमालेले केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत, नगरअध्यक्ष सागर थापा र प्रदेश सदस्य महेश भट्टराईको नाम सिफारिस गरेको छ।

विराटनगरमा यसअघि २०७४ मा कांग्रेसले एक्लै महानगर प्रमुख र उपप्रमुखसहित बहुमत वडा जितेको थियो। कांग्रेसभित्र गठबन्धन विरोधी मानिने नेता डा. शेखर कोइरालाको गृहनगर विराटनगरमा चुनावी तालमेल नगर्न ठूलै दबाब थियो।

तर, गठबन्धनका शीर्ष नेताबीच मुलुकभरका महानगर र उपमहानगर बाँडफाँट गर्ने सहमति गरेपछि कांग्रेसको तालमेल विरोधी पक्ष ‘ब्याक’ भएको थियो। तालमेलले गठबन्धनकै दल जसपामा पनि असन्तोष ल्याएको छ।

मेयरका दाबेदार रहेका नेता उमेश यादवले मेयर नपाउने भएपछि पार्टी त्यागेको घोषणा गरेका छन्। उनले आज स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेका छन्। गठबन्धनबाट कांग्रेसले पाउने निश्चित भएको विराटनगर महानगरमा कांग्रेसबाट प्रमुख पदमा धेरै जना नेताहरु दाबेदार छन्।

प्रतिक्रिया दिनुहोस