Latest News

पोखराको मेयरमा कांग्रेसका क्षेत्रीय प्रतिनिधिको बागी उम्मेदवारी, गठबन्धनमा खैलाबैला

Nepalese Times April 24, 2022 (2 Year ago)    648 Views

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले पोखराको मेयरमा उम्मेदवारी दिएका छन्।

पार्टीमा विद्रोह गरेको र कांग्रेस कार्यकर्ताले रुखमै भोट हाल्न पाउनुपर्ने जिकिर गर्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले उम्मेदवारी दिएसंगै गठबन्धनमा खैलाबैला सुरु भएको छ।

उनले पार्टीले कारबाही गर्ने हो भने अर्काको चुनाव चिह्नमा भोट हाल्न लगाउने कांग्रेस सभापति शेरबहादुर देउवालाई कारबाही गर्नुपर्ने बताए।

केन्द्रीय नेतृत्वले गरेको गलत कदमको विरुद्ध आफूले उम्मेदवारी दर्ता गरेको कार्कीले बताए । ‘सिण्डिकेट लागु गर्‍यो । हामी कांग्रेसी हो । हामीले कसलाई भोट हाल्ने ?,’ उनले भने, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् । अहिले कलममा भोट हाल भनेका छन् । अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ?’

कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए । ‘मिलेर पद लिने हो भने ६० अर्ब चुनावी खर्च किन गर्नुपर्‍यो ? मिलेर पद बाँड्दा भैगो त,’ उनले अघि थपे, ‘दलीय व्यवस्थामा दलीय प्रतिस्पर्धा हुनुपर्छ । मिलेर जाने होइन । यस्तो संसारमै भएको छैन ।’

यता प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गण्डकी प्रदेशका नेताहरुलाई पोखरा महानगरपालिकाको बाध्यता बुझिदिन आग्रह गरेका छन्।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वसभापतिसमेत रहेका पूर्वमन्त्री यज्ञबहादुर थापासँग उनले बाध्यता पोखराको बुझिदिन आग्रह गरेका हुन्। छलफलका क्रममा सभापति देउवाले पोखरा महानगरपालिकाबारे गठबन्धन बैठकमा कुरा राख्ने पनि नेताहरुलाई आश्वासन दिएका छन्।

एकीकृत समाजवादीलाई गठबन्धनले पोखराको मेयर दिएपछि पोखरा काँग्रेसमा चर्को असन्तुष्टि रहेको छ।

यता एकीकृत समाजवादीले पोखरा महानगरको मेयरको उम्मेदवार टुंगो लगाएको छ । पोखराको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको छ । अब उनी गठबन्धनको साझा उम्मेदवार हुनेछन् ।

आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि शनिबार पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यस्तै एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ।

 

प्रतिक्रिया दिनुहोस