Latest News

काठमाडौँ मेयरका उम्मेदवार केशव स्थापितले दिए राजीनामा

Nepalese Times April 24, 2022 (2 Year ago)    567 Views

बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।

आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् ।

 एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले स्थापितलाई उठाउने निर्णय गरेको हो ।

तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमालेका एक नेताले बताए । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरको टिकट दिएको हो ।

 डंगोल पूर्व मिस नेवाः हुन् । उनले मेयरमा उम्मेदवारी दिने घोषणा गर्दै घोषणा पत्रसमेत सार्वजनिक गरेकी थिइन् ।

यस्तै यो पटक सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयर पदमा टिकट पाएकी छिन् । कांग्रेस नेता प्रकाशमान सिंह पत्नीसमेत रहेकी उनलाई यो पटकको चुनावमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को पनि साथ रहेको छ ।

यो पटक काठमाडौं महानगरपालिकामा यीनै दुई उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । अरु राजनीतिक दलहरुबाट उम्मेदवारी घोषणा गराकाहरुको भन्दा यी दुई उम्मेदवारको चर्चा अलि धेरै नै छ ।

प्रतिक्रिया दिनुहोस