Latest News

आज र भोलि उम्मेदवारको मनोनयन दर्ता, यस्ता छन् उम्मेदवारी दिन चाहिने कागजात (सूचीसहित)

Nepalese Times April 24, 2022 (1 Year ago)    594 Views

काठमाडौं । वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगले आज र भोलीका लागि बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको छ ।।

विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेकोले अहिले २ दिन राखिएको आयोगको भनाइ छ ।

यसले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन उम्मेदवारको सूची प्रकाशन गर्न नसकिएको सन्दर्भमा दुई दिनको समय दिन उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको आयोगले स्पष्ट पारेको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ । उम्मेदवारी दर्ता गराउन पहिले त सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम हुनुपर्नेछ ।

त्यसपछि सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ ।

महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्ने आयोगले जनाएको छ । कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ ।

कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा आवश्यक पर्नेछ । वडा अध्यक्षमा उम्मेदवारी दिन १००० रुपैयाँ शुल्क लाग्नेछ । वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस