Latest News

काठमाडौंको मेयरमा टिकट पाएका केशव स्थापितमाथि यौन हिंसाको आरोप, यी हुन् दुई पीडित महिला

Nepalese Times April 24, 2022 (1 Year ago)    1225 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा पूर्व मेयर केशव स्थापितलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ ।उपमेयरमा भने यसअघि स्वतन्त्र रुपमा मेयरमा उम्मेदवार दिने घोषणा गरेकी सुनिता डंगोलले टिकट पाएकी छिन् ।

काठमाडौं महानगरपालिकाको मेयरको टिकट स्थापितले पाउने भएसँगै उनको चर्को आलोचना र विरोध पनि हुन थालेको छ । यसअघि यौन उत्पिडनको आरोप खेपेका मान्छेलाई मेयरको उम्मेदवार बनाएको भनेर पहिलेको घटनामा जानकार महिलाहरुले सामाजिक संजालदेखि विभिन्न माध्यमबाट बोल्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापतिले पनि सामाजिक संजालमार्फत उनले मेयरको टिकट पाउने भएपछि विरोध गरेकी छिन् । उनले यसअघि स्थापितबाट हिंसा सहनुरेको भनेर बाहिर घटना बाहिर ल्याएकी थिइन् ।

काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापति र पूर्वपत्रकार उज्जला महर्जनले काठमाडौं महानगरका पूर्वमेयर तथा प्रदेश नम्बर ३ का भौतिक योजना मन्त्रीसमेत भएका केशव स्थापितमाथि यौन उत्पीडनको आरोप लगाएका हुन्।

प्रजापतिले स्थापितको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको अनुभव सार्वजनिक गरेकी छिन् । उनले पन्ध्र वर्षअघिको उक्त घटना सम्झँदै भनिन्, ‘उनले (स्थापित) घुम्न जाने र ‘क्वालिटी टाइम’ बिताउने प्रस्ताव राखे। मैले अस्वीकार गरेकै कारण जागिरबाट निकालिएँ।’

त्यतिबेला रश्मीला करारमा महानगरको शाखा अधिकृत नियुक्त भएकी थिइन्। आफूलाई अर्को कुनै विभागको प्रमुख बनाइदिने लोभ देखाउँदै स्थापितले घुम्न जाने प्रस्ताव राख्ने गरेको प्रजापतिले बताइन्।

काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापति उनी त्यतिबेला नगरपालिकाको कामबाट छुट्टि मिलेको दिन (शनिबार) एउटा एफएम रेडियोमा कार्यक्रम चलाउँथिन्। एक शनिबार एफएमका रिसेप्सनिस्टले फोन आएको भन्दै प्रजापतिलाई बोलाइन्।

‘त्यो फोन मेयर स्थापितको थियो,’ स्थापितसँगको टेलिफोन कुराकानी उद्धृत गर्दै प्रजापतिले भनिन्, ‘नगरकोट आउनू, तपाईंको प्रमोसनबारे कुरा गर्नुछ। मैले गाडी पठाएको छु।’

‘मैले झ्यालबाट बाहिर हेरेँ। त्यहाँ स्थापितको गाडी थियो। मैले ‘आउन सक्दिनँ’ भन्दै फोन राखेँ। आउँदिन भन्दा पनि स्थापितको गाडी धेरै बेरसम्म एफएमअगाडि बस्यो। साँझ अबेरसम्म म बाहिर निस्कन सकिनँ। अफिसमै बसेँ। त्यो गाडी त्यहाँबाट गएपछि बल्ल घर गएँ,’ उनले भनिन्।

उनी भोलिपल्ट मेयरको कार्यकक्ष पुगिन्। भनिन्, ‘मेयरसाब, तपाईंले मलाई गलत सम्झिनुभो जस्तो छ। म जागिर जोगाउन हाकिमसँग रिसोर्ट जाने मान्छे हैन। आफूलाई बेचेर कुनै प्रमोसन मलाई चाहिन्न। अबदेखि त्यसरी नबोलाउनू।’

स्थापितले त्यसअघि पनि अप्ठ्यारो हुने गरी हात समाउन र छुन खोज्ने गरेको उनले बताइन्। उनी उक्त घटनाको चार वर्षसम्म हनुमानढोकास्थित पुरातत्व तथा पर्यटकीय विभागमा काम गर्न गइन्। त्यो महानगरपालिकाअन्तर्गत नै पर्थ्यो। यो चार वर्ष मेयर स्थापित चुपचाप बसे।

निर्वाचित मेयरका रूपमा उनको कार्यकाल सकियो। पूर्वराजा ज्ञानेन्द्रले नगरप्रमुखमा फेरि स्थापितलाई नै नियुक्त गरे। आफ्नो नियुक्तिको पहिलो निर्णयमै उनले रश्मीला प्रजापतिको जागिर खोसेका थिए ।

स्थापितविरूद्ध यौन उत्पीडनको आरोप लगाउने प्रजापति मात्र छैनन्, पूर्वपत्रकार उज्ज्वला महर्जनले पनि आफूलाई असजिलो हुने गरी साथी बन्ने प्रस्ताव राखेको खुलासा गरेकी छिन् ।

उज्ज्वलाका अनुसार उनले अंग्रेजी दैनिक ‘रिपब्लिका’ मा काम गर्दा स्थापितसँग अन्तर्वार्ता लिएकी थिइन्। अन्तर्वार्ता लिएर फर्केको अर्को साँझ स्थापितले आफूलाई फोन गरेर साथी बन्ने प्रस्ताव राखेका थिए । आफूलाई त्यतिबेलै धेरै असजिलो लागेको भन्दै उनले धेरैले उनलाई राम्रो मान्छे भन्ने गरेकोले आफूले प्रतिवाद गर्न भने नसकेको बताईन् ।

उनले भनिन्, ‘मलाई भने पहिलोपटक, त्यो पनि प्रोफेसनल कामका लागि भेटेको मान्छेले साथी बन्नुपर्छ, हामी भेटिराख्नुपर्छ है भन्दा अप्ठ्यारो लागेको थियो । जब साँझ पर्थ्यो, स्थापितले मलाई फोन गरिरहन थाले। एक–दुईपटक त उठाएँ, तर पछि बेवास्ता गरेँ। उनको फोन उठाउन छाडेँ।’

स्थापितले भने उज्ज्वलालाई आफूले चिन्दै नचिनेको र अन्तर्वार्ता पनि नदिएको बताएका छन्। उनले यस्तो दाबी गरे पनि उज्ज्वलाले स्थापितलाई भेटेर कुराकानी गरी समाचार लेखेको प्रमाणसमेत राखेकी छिन् ।

यसअघि स्थापित यौन हिंसाको आरोपमा मुछिएपछि प्रदेश ३ को सरकारले छानबिन थालेको थियो । त्यतिबेलाका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा निर्माण मन्त्री स्थापितमाथि छानविनका लागि भन्दै मन्त्रि पदबाटै हटाएका थिए ।

‘मि टु मुभमेन्ट’ अभियान सशक्त हुँदै जाँदा आफूहरुले भोगेका यौन हिंसाका घटना सामाजिक संजालबाट व्यक्त गरिँदै जाँदा मन्त्री स्थापित पनि मुछिएका हुन् ।

प्रतिक्रिया दिनुहोस