Latest News

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार घोषणा गरेकी सुनितालाई एमालेले दियो उपमेयरको टिकट

Nepalese Times April 23, 2022 (1 Year ago)    910 Views

काठमाडौं । नेकपा एमालेले काठमाडौंको मेयर उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरको टिकट दिएको हो । एमाले सचिवालयको शनिबार बसेको बैठकले महानगर र उपमहानगरको उम्मेदवारहरु टुंगो लगाएको छ ।

जसअनुसार काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको हो । डंगोल पूर्व मिस नेवाः हुन् । उनले मेयरमा उम्मेदवारी दिने घोषणा गर्दै घोषणा पत्रसमेत सार्वजनिक गरेकी थिइन् ।

 शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाउने नेकपा एमालेले औपचारिक निर्णय गरेको छ ।

यस्तै पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको निर्णय भएको नेकपा एमालेले जनाएको छ । यस्तै भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ ।

दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन । यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी रहेको नेकपा एमालेका नेताहरुले बताएका छन् ।

यस्तै केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र तोकिएका छन् । नेकपा एमालेको सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा चन्द्रकला राना थारुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।यस्तै नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई टिकट दिने निर्णय गरेको छ ।

यस्तै दाङको घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई टिकट दिने निर्णय भएको नेकपा एमालेका एक नेताले नेप्लिज टाइम्सलाई बताएका छन् ।

यस्तै नेकपा एमालेको निर्णय अनुसार बुटवल उपमहानगरपालिकाको मेयरको टिकट बाबुराम भट्टराईले पाएका छन् भने उपमेयरको टिकट साबित्रा अर्याललाई दिने सहमति भएको छ । यस्तै हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकाको मेयरमा मन्जु भण्डारी र उपमेयरको टिकट पदम लिम्बुले पाउने भएका छन् । इटहरीको मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने कलैयाको मेयरमा विनोद शाहलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस