Latest News

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो, चुनावी तालमेलबारे के–के भयो निर्णय ?

Nepalese Times April 23, 2022 (2 Year ago)    837 Views

काठमाडौं । सहमति जुट्न नसकेका स्थानीय तहहरुमा चुनावी तालमेलका लागि अन्तिम प्रयास गर्ने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले निर्णय गरेका छन् ।

उम्मेदवारी दर्ताको अघिल्लो दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बैठक बसेर यस्तो निर्णय गरेको हो ।

बालुवाटारमा भएको छलफलले अहिलेसम्म सहमति भएका ठाउँको विवरण तयार पार्न र बाँकी ठाउँमा आवश्यक सिफारिस गर्न कार्यदललाई निर्देशनसमेत दिएको छ ।

गठबन्धनका शीर्ष नेताहरुले महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याएको थियो भने नगर र गाउँपालिकामा तालमेलको जिम्मा जिल्ला र प्रदेश संयन्त्रलाई लिएको थियो । केन्द्रले गरेको भागवण्डालाई लिएर दलहरुमा असन्तुष्टि कायमै छ भने थुप्रै जिल्लामा पनि सहमति जुट्न सकेको छैन । कार्यदलको बैठक विहान ९ बजे बोलाइएको छ । त्यो बैठकले गर्ने सिफारिसबारे निर्णय लिन दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक राखिएको छ ।

भोलिको बैठकले कहाँकहाँ तालमेल हुने भयो, कहाँ स्वस्थ्य प्रतिस्पर्धा हुने भयो भन्ने टुंगो लगाउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावका लागि आईतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

यो पटकको चुनावममा महानगरपालिका र उपमहानगरपालिकामा सत्तारुढ दलहरुले भागबण्डा मिलाइसकेका छन् । विभिन्न जिल्लामा पनि पालिकाको भागबण्डाको काम भइरहेको छ ।

सत्तारुढ दलहरुले चुनावी तालमेल गर्दै गर्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि आवश्यकता अनुसार विभिन्न साना दलहरुसँग तालमेल गर्ने भएको छ । यो पटकको स्थानीय तहको चुनावमा सबैभन्दा धेरै चर्चाको रुपमा चितवनको भरतपुर महानगरपालिकालाई हेरिएको छ ।

सत्तारुढ गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेनु दाहाल रहेकी छिन् ।

५ वर्षअघिको स्थानीय तहको चुनावमा पनि नेपाली कांग्रेससँग नै तालमेल गरेर मेयर पदमा विजयी भएकी दाहालले यो पटक पनि सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने अवसर पाएकी हुन् । उनले पुनः मेयरमा उम्मेदवार दिनका लागि मेयर पदबाट राजीनामा दिइसकेकी छिन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरुको साझा उम्मेदवारको रुपमा रहेकी दाहालसँग टक्कर लिनका लागि नेकपा एमालेले भने विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।

चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७४ सालका मेयरका उम्मेदवार देवी ज्ञवालीले प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्नेगरी सुवेदी मेयरको उम्मेदवार बन्न लागेका हुन् ।

सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री भएका थिए । भरतपुर महानगरपालिका १२ का स्थायी वासिन्दा उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका छन् ।

यो पटक भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेको तर्फबाट बलियो उम्मेदवार रहेकोले यी दुईमध्ये कसले बाजी मार्ला ? भन्ने आम चासो रहेको छ । उनीहरु दुबैजनाले विजय सुनिश्चित रहेको भन्न थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस