Latest News

बाबुराम भट्टराईलाई एमालेले बनायो मेयरको उम्मेदवार, यी हुन् ९ उपमहानगरपालिकाका उम्मेदवारहरु (सूचीसहित)

Nepalese Times April 23, 2022 (2 Year ago)    1025 Views

काठमाडौं । नेकपा एमालेले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यस्तै ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाउने नेकपा एमालेले औपचारिक निर्णय गरेको छ । यस्तै पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको निर्णय भएको नेकपा एमालेले जनाएको छ ।

यस्तै भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन । यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी रहेको नेकपा एमालेका नेताहरुले बताएका छन् ।

केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र तोकिएका हुन् ।नेकपा एमालेको सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा चन्द्रकला राना थारुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।यस्तै नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई टिकट दिने निर्णय गरेको छ ।

यस्तै दाङको घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई टिकट दिने निर्णय भएको नेकपा एमालेका एक नेताले नेप्लिज टाइम्सलाई बताएका छन् ।

यस्तै नेकपा एमालेको निर्णय अनुसार बुटवल उपमहानगरपालिकाको मेयरको टिकट बाबुराम भट्टराईले पाएका छन् भने उपमेयरको टिकट साबित्रा अर्याललाई दिने सहमति भएको छ । यस्तै हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकाको मेयरमा मन्जु भण्डारी र उपमेयरको टिकट पदम लिम्बुले पाउने भएका छन् । इटहरीको मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने कलैयाको मेयरमा विनोद शाहलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसैबीच, यो पटकको स्थानीय तहको चुनावमा सबैभन्दा धेरै चर्चाको रुपमा चितवनको भरतपुर महानगरपालिकालाई हेरिएको छ । सत्तारुढ गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेनु दाहाल रहेकी छिन् ।

५ वर्षअघिको स्थानीय तहको चुनावमा पनि नेपाली कांग्रेससँग नै तालमेल गरेर मेयर पदमा विजयी भएकी दाहालले यो पटक पनि सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने अवसर पाएकी हुन् । उनले पुनः मेयरमा उम्मेदवार दिनका लागि मेयर पदबाट राजीनामा दिइसकेकी छिन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरुको साझा उम्मेदवारको रुपमा रहेकी दाहालसँग टक्कर लिनका लागि नेकपा एमालेले भने विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।

चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७४ सालका मेयरका उम्मेदवार देवी ज्ञवालीले प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्नेगरी सुवेदी मेयरको उम्मेदवार बन्न लागेका हुन् ।

सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री भएका थिए । भरतपुर महानगरपालिका १२ का स्थायी वासिन्दा उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका छन् ।

यो पटक भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेको तर्फबाट बलियो उम्मेदवार रहेकोले यी दुईमध्ये कसले बाजी मार्ला ? भन्ने आम चासो रहेको छ । उनीहरु दुबैजनाले विजय सुनिश्चित रहेको भन्न थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस