Latest News

सातै प्रदेशका सुरक्षा प्रमुखलाई गृहमन्त्रीको फोन, दिए यस्तो निर्देशन

Nepalese Times April 23, 2022 (1 Year ago)    573 Views

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयनका बोला हुन सक्ने अप्रत्यासित घटना रोक्न गरिएको सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेश प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेल प्रमुखसँग जानकारी लिएका छन्।

शनिबार गृहमन्त्री खाणलेनेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन्।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको समय वैशाख ११ र १२ गते छुट्याएको छ।

गृहमन्त्री खाणले नेपाल प्रहरीका प्रदेश एक प्रमुख नायव महानिरीक्षक अरुणकुमार बिसी, मधेस प्रदेश प्रमुख नायव महानिरीक्षक मसुद आलम खाँ, बागमती प्रदेश प्रमुख नायव महानिरीक्षक पूजा सिंह, गण्डकी प्रदेश प्रमुख, नायव महानिरीक्षक दिवस लोहनी, लुम्बिनी प्रदेश प्रमुख नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रमुख नायव महानिरीक्षक गणेश ऐर र सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक मोहन आचार्यसँग निर्वाचनको मनोनयनका बेलाका लागि गरिएको सुरक्षा प्रबन्धबारे जानकारी लिए।

यस्तै सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायव महानिरीक्षक कमलराज गिरी, मधेश प्रदेश प्रमुख नायव महानिरीक्षक गणेश ठाडा मगर, बागमती प्रदेश प्रमुख नायव महानिरीक्षक किशोर प्रधान, गण्डकी प्रदेश प्रमुख नायव महानिरीक्षक शम्भु सुवेदी, लुम्बिनी प्रदेश प्रमुख नायव महानिरीक्षक कुलबहादुर नेम्बाङ, कर्णाली प्रदेश प्रमुख नायव महानिरीक्षक अभि खत्री तथा सुदूर पश्चिम प्रदेश प्रमुख दुर्गाप्रसाद भट्टराईसँग पनि उम्मेदवारी मनोनयनका बेलाको सुरक्षा अवस्थाबारे खाँणले बुझेका छन्।

गृहमन्त्री खानसँग आफूहरू उम्मेदवारको मनोनयनका बेला हुने अप्रत्यासित घटनाबारे सतर्क र चनाखो भएर रणनीति बनाउँदै तयारी गरेको बताएका थिए।

‘मैले स्थानीय तह निर्वाचनमा उम्मेदवार मनोनयनका बेलाको सुरक्षा व्यवस्थाको तयारी कस्तो छ भनेर सोधेँ,’ गृहमन्त्री खाणले भने, ‘सबै प्रदेश र केन्द्रमा निर्वाचन हेरिरहेका अधिकृतहरूले आफूहरूले पूर्णरूपमा तयारी गरेको जानकारी दिएका छन्।’

गृहमन्त्री खाणले त्यसक्रममा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिए ।

सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रमुख नायव महानिरीक्षक भट्टराईले गृहमन्त्री खाणले उम्मेदवारको मनोनयनका बेलाको सुरक्षा अवस्थाबारे टेलिफोनमार्फत जानकारी लिएको बताए।

प्रतिक्रिया दिनुहोस