Latest News

कांग्रेसले तोक्यो तुलसीपुरको मेयर, को हुन् गिरी ?

Nepalese Times April 23, 2022 (2 Year ago)    709 Views

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले तुलसीपुर उपमहानगरपालिकाको मेयर तोकेको छ । नेपाली कांग्रेसले सत्ता गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनबाट तुलसीपुर उपमहानगरको मेयर पदको भाग कांग्रेसलाई परे अनुसार कांग्रेस लुम्बिनी प्रदेशले गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यद्यपि कांग्रेसमा उपमहानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय समितिले चयन गर्ने व्यवस्था रहेको र केन्द्रले निर्णय गरेर पठाउने तुलसीपुर नगरसभापति सुरेश हमालले बताए ।

पूर्वसांसद समेत रहेका गिरी ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए ।

यसैगरी तुलसीपुरको उपमेयर सत्तागठबन्धनबाट नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जोगबहादुर रानालाई उपमेयर बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनका तर्फबाट तुलसीपुरमा मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा जोगबहादुर राना चुनाव लड्ने भएका हुन् ।

यस्तै उम्मेदवार दर्ता गर्ने अघिल्लो दिनसम्म पनि महानगरपालिका, उपमहानगरपालिका र अरु पालिकाहरुमा उम्मेदवार चयन गर्न नेपाली कांग्रेसलाई सकस भएको छ ।

केही दिनदेखि उम्मेदवार चयनबारे घनिभुत छलफल गर्दासमेत शीर्ष नेताहरु यसमा सफल हुन सकिरहेका छैनन् । उम्मेदवार चयनबारे शीर्ष नेताहरुबीच कुरा नमिल्दा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक तेस्रोपटक स्थगन गरिएको छ।

दोस्रोपटक समय तोकेर आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक पनि नबस्ने भएको हो। बैठक स्थगन गरिएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी गराएका छन् । यसअघि आजै बिहान ११ बजे बस्ने भनिएको थियो। हिजो शुक्रबार पनि दिउँसो २ बजेका लागि बोलाएर बैठक अन्तिम समयमा स्थगन गर्दै आजलाई सारिएको थियो।

छ महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र विराटनगरमा मेयर तथा भरतपुर, वीरगञ्ज र पोखरामा उपमेयरका उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको शीर्ष नेताहरु बारम्बार बैठक बसिरहेका छन् । शीर्ष नेताहरूको बैठकमा नेताहरूबीच शक्ति बाँडफाँटको विषयले विवाद भएको छ ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकले काठमाडौंको मेयरमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाउन सहमति जुटेको छ । यस्तै मेयर माओवादी केन्द्रको भागमा परेको चितवनको भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीको नाम टुंगो लागेको छ ।

काठमाडौं र भरतपुरको विषय करिब टुंगिएको र लिखित हुन मात्रै बाँकी रहेको बैठकमा सहभागि एक कांग्रेस पदाधिकारीले बताए । बाँकी ठाउँमा कसरी शक्ति सन्तुलन गर्ने भन्ने समस्या देखिएको रत्यही कारण सहमति नभएको उनले बताए ।

सभापति देउवा, नेता शेखर कोइराला र अर्का नेता रामचन्द्र पौडेलले फरक–फरक प्रस्ताव अघि सारेका छन् । बैठकमा अहिले वीरगञ्ज महानगरपालिकाको उपमेयरका विषयमा छलफल भएको छैन । बाँकीमध्ये ललितपुर र विराटनगरको मेयर तथा पोखराको उपमेयरका विषयमा नेताहरूबीच विवाद छ ।

प्रतिक्रिया दिनुहोस