Latest News

गोरखामा चुनावी तालमेल गर्न कांग्रेस र माओवादीको छुट्टै बैठक, कुन पालिका कसको भागमा ?

Nepalese Times April 23, 2022 (2 Year ago)    661 Views

काठमाडौं । केन्द्रबाट देशभर चुनावी तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका बाहेक अरु ठाउँमा भागबण्डा मिलाउन सकिरहेको छैन ।

चुनावी भागबण्डा मिलाउन नसक्दा गोरखालगायत विभिन्न जिल्ला र पालिकाहरुमा गठबन्धन टुट्न थालेको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा नमिलेपछि गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै छलफल सुरु गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीबीचको छलफलले भागबण्डा टुंग्याउन नसकेपछि दुई पार्टीबीच मात्र तालमेलका लागि छलफल सुरु भएको हो ।

शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रको केन्द्रीय सदस्यसहितको बैठक बसेर चुनावी तालमेलबारे कुराकानी भएको नेताहरुले बताएका छन् ।

छलफलमा जिल्लाको एघार पालिकामध्ये सात वटाको नेतृत्व कांग्रेसले लिने र बाँकी चार वटाको नेतृत्व माओवादी केन्द्रले लिने गरी सहमति नजिक पुगेको स्रोतले जनाएको छ ।

कांग्रेसले गोरखा नगरपालिका, गण्डकी, भीमसेन थापा, धार्चे, सिरानचोक, आरुघाट र अजिरकोट गाउँपालिकाको नेतृत्व लिने मोटामोटी सहमति भएको छ ।

यस्तै माओवादी केन्द्रले पालुङटार नगरपालिका, बारपाक सुलिकोट, शहीद लखन र चुमनुब्री गाउँपालिकाको नेतृत्व लिने गरी छलफल अघि बढेको बैठकमा सहभागी एक नेताको भनाइ छ ।

बैठकमा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, अब्दुल सतार र माओवादी केन्द्रका जिल्ला इन्चार्ज कृष्ण धिताल, केन्द्रीय सदस्य अमर तमुलगायत सहभागी छन् । छलफलमा सहमतिको नजिक पुगेपनि अधिकारिक निर्णय भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस