Latest News

गठबन्धन भित्र विवाद: कांग्रेसलाई मन्त्री दिएकाे भन्दै एसको असन्तुष्टि, अविश्वास प्रस्ताव ल्याउने तयारी

Nepalese Times April 23, 2022 (2 Year ago)    542 Views

सुदूरपश्चिममा गठबन्धन भित्र विवाद बढ्दै गएको छ। प्रदेश सरकारले एकलाैटी निर्णय गरेर आफ्ना मन्त्री फिर्ता बाेलाएर कांग्रेसलाई मन्त्री  दिएकाे भन्दै सुदूरपश्चिम नेपाल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको हो ।

 एकीकृत समाजवादीले सुदूरपश्चिममा  चुनावपछि एकल बहुमतको सरकार चलाउने तयारी पनि गरिएको छ।

यस्तै, सुदूरपश्चिममा पार्टीले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरिकन एकल उम्मेदवारी दिने निर्णय भएको एक नेताले बताए।

माओवादी र कांग्रेसले एक्ला-एक्लै बैठक राख्ने र समाजवादीलाई छायामा राख्ने रणनीति लिएपछि पार्टीले छुट्टै बाटाे अपनाउने तयारी गरेकाे हो  ।

पार्टीले सम्भवत: जेठ पहिलो सातादेखि नै मुख्यमन्त्री त्रिलोचन भट्टमाथि अविश्वासको प्रस्ताव प्रदेश सभामा टेबल गर्ने स्रोतकाे दाबी छ। गत चैत २५ गते सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले पाँचौ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिन भट्टले प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराएकाे बताएका थिए।जसमा नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रण बहादुर रावलले आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहराले सामाजिक विकास मन्त्री र टेकबहादुर रैकाले सामाजिक विकास राज्यमन्त्रीमा रूपमा सपथ लिएका थिए।

कांग्रेसलाई सरकारमा सहभागी गराउन एकीकृत समाजवादीले तीन जना मन्त्रीलाई फिर्ता बाेलाएकाे थियाे।

फिर्ता हुनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जाेशी, सामाजिक विकासमन्त्री रहेका लालबहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री रहेकी मना कुमारी साउद थिए। एकीकृत समाजवादीले उनीहरूलाई कांग्रेस र माओवादी एकलाैटी निर्णय गरेर फिर्ता हुन बाध्य गरेकाे नेकपा एसकाे दाबी छ।

यस्तै, समाजवादीबाटै आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको थियो भने उनको ठाउँमा अढाई वर्षअघि राज्य मन्त्रीबाट राजीनामा दिएका समाजवादीका प्रकाश रावल नियुक्त भएका थिए। यसअघि रावल किर्ते गरेकाे मुद्दा लागेपछि सरकारबाट बाहिरिएका थिए।

यसअघि भाैतिक पूर्वाधार विकासका राज्यमन्त्री रहेकी चुनकुमारी चाैधरीलाई फिर्ता बाेलाई एकीकृत समाजवादीले उनकाे ठाउँमा कुलवीर चाैधरीलाई पठाएको थियाे।

यसअघि अर्थ राज्यमन्त्री रहेकी माया तामाङ बाेहरालाई फिर्ता बाेलाई समाजवादीकै अमर साउद नियुक्त भएका थिए।

सुदूरपश्चिम प्रदेश सभाका एकीकृत समाजवादीका १४, माओवादीको १३, कांग्रेसका १२ र एमालेका ११ जना सांसद छन्। यस्तै लाेकतान्त्रिक समाजवादी पार्टी र जसपाका गरी १/१ जना सासंद छन्।

 

प्रतिक्रिया दिनुहोस