Latest News

भाँडियो सत्ता गठबन्धन : झापामा एमाले र कांग्रेसबीच चुनावी तालमेल हुने, तोकिए साझा उम्मेदवार

Nepalese Times April 23, 2022 (1 Year ago)    912 Views

काठमाडौं । केन्द्रमा नेकपा एमालेका उम्मेदवार हराउन भन्दै ५ दलीय गठबन्धन कम्मर कसेरै लागिपरेका छन् । उनीहरुले देशभर आवश्यकता अनुसार सत्ता गठबन्धनबीच तालमेल गर्न भनेका छन् ।

तर, केन्द्रको सहमति विपरित झापाको कचनकवल गाउँपालिकामा भने नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन हुने भएको छ।

गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिनेगरी चुनावी तालमेल हुने भएको त्यहाँका एक स्थानीय नेताले बताएका छन् । सहमति अनुसार अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन्।

कचनकवलमा राप्रपाको वर्चस्व तोड्न कांग्रेस र एमालेले गठबन्धन गरेका हुन्। राप्रपाका तर्फबाट बहालबाला अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी उठ्ने भएका छन्।

कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी गठबनधन बनेको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताएका छन्। उनले वडा अध्यक्ष र सदस्यहरुको भागबन्डाको विषयमा छलफल चलिरहेको बताए।

यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको पनि स्पष्ट पारे ।

महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँडले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो ।

‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँड उत्साहवद्र्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिर्पोट सुन्दाखेरी त्यति आशावादी÷उत्साही हुने स्थिति छैन । हामीले भनेका थियौ–देशैभरी हाम्रो पार्टीको सञ्जाल छ । हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभरी हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्छ । त्यसैगरी हामीले भनेका थियौ–नेकपा –माओवादी केन्द्र)ले जितेको ठाउँमा सोही पार्टी । नेपाली काँग्रेसले जितेको ठाउँमा काँग्रेस, जनता समाजवादीले जितको ठाउँमा सोही पार्टीको उम्मेदवार उठाउनु पर्दछ । त्यसमा आम रुपमा ठिकै छ । तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दावी हाम्रो लाग्नु पर्दछ । कुरो त यसमा ठिकै भएको थियो । त्यस अनुसार काम भएन ।’ उनले भने।

जे जस्तै भए पनि अब सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गर्नु पर्ने उनले बताए । उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा गठबन्धनका विषयमा केही नेताहरु लचिलो हुन तयार भए पनि केही नेताहरुमा त्यो नदेखिएको बताए।

केपी ओलीलाई संकेत गर्दै अध्यक्ष नेपालले केन्द्र, प्रदेशदेखि जताततै पछारिए पनि एमालेको चेत नखुलेको बताए। ‘दम्भ अहंकार अहिले पनि कायमै छ। अहिले पनि मात लागिरहेको नै छ,’उनले भने।

प्रतिक्रिया दिनुहोस