Latest News

भरतपुरको उपमेयरमा कांग्रेसले टुंगो लगायो उम्मेदवार, महानगर र उपमहानगरमा क-कसले पाउने भए टिकट ?

Nepalese Times April 23, 2022 (1 Year ago)    1318 Views

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाउन राजनीतिक दलहीबीचको रस्साकस्ची बाक्लिएको छ । सबै राजनीतिक दलहरु यतिखेर उम्मेदवार चयनमा व्यस्त भएका छन् ।

स्थानीय तह निर्वाचनमा महानगरपालिकाका मेयर र उपमेयरको टिकट वितरणमा सत्तारुढ दल नेपाली कांग्रेसभित्र चर्को रस्साकस्सी चलिरहेको छ ।

छ महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र विराटनगरमा मेयर तथा भरतपुर, वीरगञ्ज र पोखरामा उपमेयरका उम्मेदवार चयन गर्न बसेको शीर्ष नेताहरूको बैठकमा नेताहरूबीच शक्ति बाँडफाँटको विषयले विवाद भएको छ ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकले काठमाडौंको मेयरमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाउन सहमति जुटेको छ । यस्तै मेयर माओवादी केन्द्रको भागमा परेको चितवनको भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीको नाम टुंगो लागेको छ ।

काठमाडौं र भरतपुरको विषय करिब टुंगिएको र लिखित हुन मात्रै बाँकी रहेको बैठकमा सहभागि एक कांग्रेस पदाधिकारीले बताए । बाँकी ठाउँमा कसरी शक्ति सन्तुलन गर्ने भन्ने समस्या देखिएको रत्यही कारण सहमति नभएको उनले बताए ।

सभापति देउवा, नेता शेखर कोइराला र अर्का नेता रामचन्द्र पौडेलले फरक–फरक प्रस्ताव अघि सारेका छन् । बैठकमा अहिले वीरगञ्ज महानगरपालिकाको उपमेयरका विषयमा छलफल भएको छैन । बाँकीमध्ये ललितपुर र विराटनगरको मेयर तथा पोखराको उपमेयरका विषयमा नेताहरूबीच विवाद छ ।

ललितपुर महानगरपालिकामा संस्थापन पक्षकै नेताहरूबीच मतभेद भएको छ । केन्द्रीय सदस्यद्वय मदन अमात्य र उदय शमशेरले फरक–फरक व्यक्तिको नाम अघि सार्दा ललितपुरको मेयर पदको उम्मेदवार टुंगो लागेको छैन ।

ललितपुरको मेयरका लागि ९ जनाको दाबी छ । ललितपुरमा ०७४ मा कांग्रेसले एक्लै मेयर र उपमेयर जितेको थियो । यसपटक गठबन्धन गर्दा कांग्रेसले ललितपुरमा मेयरमात्रै पाएको छ ।

मेयरका लागि महर्जनद्वयबाहेक नगर सभापति शुभानन धाख्वा, हालकी उपमेयर गीता सत्याल, नेताहरू भरतलाल न्याछ्ओ, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएर आएको छ ।

नेताहरूबीच विराटनगरको मेयर उम्मेदवार छान्न समेत सकस हुने देखिएको छ । विराटनगर नेता शेखर कोइराला र शशांक कोइरालाको प्रभाव क्षेत्र हो । तर, सभापति देउवाले विराटनगरमा केन्द्रीय सदस्य अमृत अर्याललाई मेयरको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

विराटनगरबाट मेयरकालागि संघीय सांसद एवम् केन्द्रीय सदस्य डिला संग्रौला, केन्द्रीय सदस्य अर्याल, केन्द्रीय सदस्य एवं हालका मेयर भीम पराजुली, प्रदेश कार्यसमिति सदस्य गोपाल रेग्मी, जिल्ला उपसभापति नागेश कोइराला, हालकी उपमेयर इन्दिरा कार्की र महानगर सभापति दीपक चापागाईको नाम सिफारिस भएर आएको छ । यीमध्ये अर्याल र संग्रौला सभापति देउवानिकट हुन् ।

सभापति देउवाले पहिल्यै अर्यालको नाम सिफारिस गरेपछि कोइरालाले विरोध गरेका थिए । स्रोतका अनुसार कोइरालाले विराटनगरको मेयरमा जिल्ला सभापति नागेश कोइरालालाई अघि सार्न चाहेका छन् ।

विराटनगरबारे नेता कृष्णप्रसाद सिटौलाले भने हालका मेयर पराजुलीलाई दोहोर्‍याउनु उपयुक्त हुने भनेका थिए । विराटनगरमा ०७४ को निर्वाचनमा कांग्रेसले एक्लै मेयर, उपमेयरसहित बहुमत पदाधिकारीमा जित हासिल गरेको थियो । यसपटक केन्द्रले चुनावी तालमेल गर्दा उपमेयर पद जसपालाई दिइसकेको छ ।

बैठकमा सहभागी एक नेताले सभापति देउवाले विराटनगरको विषयमा समेत हस्तक्षेप गर्न खोजेको कारण समस्या उत्पन्न भएको बताए ।

नेताहरूले विराटनगरमा सभापति देउवाले आफूपक्षीय नेतालाई जबरजस्ती टिकट दिए विद्रोह हुनसक्ने समेत भनेका छन् । बैठकमा पोखरा महानगरपालिकाको उपमेयरका विषयमा समेत नेताहरूबीच मतभेद भएको छ । गठबन्धन गर्दा पोखराको मेयर भने नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । उपमेयरमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक फरक व्यक्तिको नाम अघि सारेका छन् ।

सभापति देउवाले आफूनिकट हालका महानगर सभापति सुरेन्द्र बिजुक्छेको नाम प्रस्ताव गरेका छन् । पौडेलले भने महिला संघकी सभापति कोपिला रानाभाटको नाम प्रस्ताव गरेका छन् । पोखराबाट मेयरका लागि १८ जना र उपमेयरका लागि १० जनाको नाम सिफारिस भएको थियो ।

उम्मेदवारको नामबारे छलफल गर्न सभापति देउवाले शुक्रबारै कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । तर शीर्ष नेताहरुबीच सहमति नभएका कारण अहिलेसम्म बसेको छैन । मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको बताए ।

प्रतिक्रिया दिनुहोस