Latest News

विवादका बीच कांग्रेसले छान्यो चर्चामा रहेको भरतपुर महानगरको उपमेयर उम्मेदवार

Nepalese Times April 23, 2022 (2 Year ago)    646 Views

पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट चितवनको भरतपुर महानगरको उपप्रमुख (उपमेयर) को उम्मेदवार नेपाली कांग्रेसका नेता चित्रसेन अधिकारीलाई बनाउने निर्णय भएको छ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले आफ्नो भागमा परेको भरतपुरको उपमेयर सिटमा अधिकारीलाई उम्मेदवार बनाउने सहमति भएको हो।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका कार्यसमिति सभापति रहेका अधिकारीलाई उपप्रमुख बनाउने निर्णय प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले गरेका हुन्।

सभापति देउवाले शीर्ष नेतासँग शनिबार छलफल गरेका थिए। भरतपुरको प्रमुखमा दाबी गरिरहेका अधिकारी यो सिट आफ्नो पार्टीको भागमा नपरेपछि उपप्रमुखको उम्मेदवार बन्ने भएका हुन्।  प्रमुखमा भने माओवादी केन्द्रकी केन्द्रीय रेनु दाहाल उम्मेदवार बन्दै छिन्। उनी त्यहाँको निवर्तमान मेयर हुन्।

यता चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेनु दाहाल साझा उम्मेदवार बन्ने भएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीलाई सघाएर लगाएको पर्म यसपटक माओवादीले कांग्रेसलाई समर्थन गरेर तिर्नुपर्ने कांग्रेस नेताहरूले बताएपनि भरतपुरको साझा उम्मेदवार भने हालकी मेयर दाहाल नै बन्ने भएकी छिन् ।

पार्टी केन्द्रले माओवादीलाई मेयरमा समर्थन गरेकोले जिल्लामा युवाहरूले विद्रोह गर्नुपर्ने भन्दै कांग्रेस चितवनका पूर्वसभापति एवम् कांग्रेस चितवनका ‘टावर’ भनेर चिनिने कृष्णलाल सापकोटाले बागी उम्मेदवारीको घोषणा गरेका छन् ।

उनले भने, ‘यसपटक कुनै पनि हालतमा माओवादीलाई बोक्न हुँदैन, युवाहरू विद्रोह गर, पार्टी बचाउनुपर्छ, यदि तिमीहरू सक्दैनौं भने म मैदानमा उत्रिन्छु मलाई साथ देउ ।’ पार्टी भित्र सधैं ‘विद्रोही नेताको पर्याय’ बनाएका नेता सापकोटालाई जिल्लाका नेताले समेत आफूलाई मन लागेका तर बोल्ने नसकेको कुरा सापकोटाले बोलिदिए हुन्थ्यो भन्ने चाह राख्छन् ।

चितवनमा २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका सापकोटा त्यसअघि एकपटक पार्टी सभापति र बहुदल आएपछि २०४८ र २०५७ मा कांग्रेस चितवनको पार्टी सभापति भैसकेका छन् । उनी जिविस चितवनको पहिलो सभापति र जिविस महासंघको संस्थापक अध्यक्ष हुन् ।

वितेको पाँच वर्षमा कांग्रेसले कहिले कता कहिले कता भोट हाल्दा पार्टी संगठन क्षयीकरण भएको, पार्टी पंक्तिमा क्षमता भएका नेताहरू निरास हुन थालेकोमा आफू चिन्तित भएको बताए ।

२–४ महिना प्रधानमन्त्री हुनलाई पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस चितवनलाई माओवादी ‘बोक्न’ लगाएको बुझाइ उनको छ । कसैले गठबन्धन विरोधी भने पनि केही फरक नपर्ने नेता सापकोटा बताउँछन् । यसपटकको निर्वाचनमा कांग्रेसले महानगर मेयरमा माओवादीलाई समर्थन गर्न नसक्ने भन्दै उनले मेयरमा आफू बागी उम्मेदवारको रुपमा रहने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस