Latest News

चुनावको मुखमै एमालेका जनप्रतिनिधिको घिनलाग्दो हर्कत, मतदाता आकर्षित गर्न साडी बाँड्दै

Nepalese Times April 23, 2022 (1 Year ago)    765 Views

काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिकाको एक वडाका अध्यक्षले सरकारी बजेटको दुरुपयोग गरेका छन्। वडानम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सरकारी बजेटबाट साडी खरिद गरेर वितरणको तयारी गरेका छन्।

स्थानीय तह निर्वाचनमा मतदाता प्रभावित पार्न उनले यस्तो हर्कत गरेसँगै आम नागरिक रुष्ट बनेका छन् । उनले सार्वजनिक सूचना नै जारी गरेपछि अहिले चर्को आलोचना भइरहेको छ ।

उनले शुक्रबार वडा कार्यालयको लेटर प्याडमा सार्वजनिक सूचना जारी गरेर साडी वितरणको मिति र समय सार्वजनिक गरेका छन्। सूचना अनुसार शनिबार दिउँसो २ बजे वडा कार्यालयमा महिलालाई साडी वितरणको तयारी गरिएको छ।

वडा कार्यालयमा साडीका लागि निवेदन दिएका महिलालाई वडा कार्यालयमा गएर साडी बुझ्न भनिएको छ। वडा कार्यालयले महिलालाई साडी वितरणका लागि सार्वजनिक सूचना जारी गरिएको वडा सदस्य पुरुषोत्तम रिजालले पुष्टि गरेका छन्।

वडाध्यक्ष खड्काले वडाका महिलालाई वितरणका लागि दुई सय थान साडी पनि खरिद गरिसकेका छन्। उनले वडा सदस्य सविना राउतमार्फत् साडी खरिद गरेको वडा कार्यालय स्रोतले जानकारी दिएको छ।

वडाध्यक्ष खड्का नेकपा एमालेबाट र वडा सदस्य रिजाल नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। एमालेबाटै निर्वाचित अर्का वडा सदस्य कमल केसीले पनि निर्वाचनको मुखमा मतदाता आफूतिर तान्न वडाध्यक्षले साडी बाँड्न लागेको आरोप लगाएका छन् ।

उनले वडाध्यक्ष खड्काको काम गर्ने शैली मन नपरेपछि आफू निर्वाचित भएको ६ महिनापछिबाट वडा कार्यालय जानै छाडेको पनि बताए।

प्रतिक्रिया दिनुहोस