Latest News

कांग्रेस बैठकः धनगढीको मेयर टुंगो लाग्यो

Nepalese Times April 23, 2022 (1 Year ago)    681 Views

काठमाडौं । नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा पुनः नृप बहादुर वडलाई सिफारिस गरेको छ। कांग्रेसबाट वडसंगै कृष्ण महरा, सुशिला मिश्र भट्ट, हरिस खड्का मेयरका आंकाक्षी थिए।

पार्टीले मेयरमा सिफारिस गरेसँगै फेरि उम्मेदवार बन्न उनले आज मेयर पदबाट राजीनामा दिँदैछन्।

अहिलेको अवस्थामा नृप वडनै बलियो उम्मेद्वार मानिएकोले उनलाई उम्मेद्वार बनाउने निर्णय भएको नेपाली कांग्रेसका एक नेताले बताए । पार्टीको निर्णयलाई अन्य आंकाक्षीले स्वीकारेका र सवैको साथ र सर्मथन रहेको उनले बताए ।

शुक्रबार बसेको केन्द्रको बैठकले धनगढीको मेयरमा वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गरेको हो। ४ दिन अघि सत्तारूढ गठबन्धनले गरेको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको थियो।

यसअघि हालका मेयर वडसँगै कांग्रेस धनगढी नगर कमिटिले ७ जनाको नाम सिफारिस गरेको थियो। मेयरको उम्मेद्वारमा वड निश्चित भए पनि वडा अध्यक्षमा कांग्रेसको भागमा कति पर्छ भन्ने एकिन नभएको ती नेताले बताए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले धनगढीबाट मेयर उपमेयरसँगै १२ वटा वडा जितेको थियो। उपमहानगरपालिकाका १९ वडा मध्ये १९ र १४ नम्वर वडामा एमालेले जितेका थियो। १५, ११, ६, ३, १८ माओवादीले जितेको थियो।

यस्तै, धनगढी–उपमहानगरपालिकाको उपमेयर माओवादीलाई परेको छ। माओवादी धनगढी नगर कमिटिले उपमेयरका लागि कृष्ण प्रसाद चौधरी, सुरज खाती, बल बहादुर ऐरको नाम सिफारिस गरेको छ।

उनीहरूमध्ये ऐर वडा नम्बर ३ का वडा अध्यक्ष हुन्। उनले शुक्रबार मात्रै उपमेयरमा चुनाव लड्ने भन्दै वडाध्यक्षबाट राजीनामा दिएका छन्।

यसैबीच माओवादीले मेयरका लागि सिफारिस गरेकी शान्ती अधिकारीलाई उपमेयरको उम्मेदवार बनाउने चर्चा पनि छ। उनी अघिल्लो निर्वाचनमा पनि उपमेयरमा कांग्रेससँग पराजित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस