Latest News

काँग्रेस बैठक: अनिवार्य उपस्थिति हुन निर्देशन, यस्ता छन् एजेण्डा

Nepalese Times April 23, 2022 (2 Year ago)    489 Views

 नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसमिति बैठक शनिबार बिहान ११ बजे बस्न लागेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि काँग्रेसको निर्देशन छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेललाई प्रभावकारी बनाउने र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्ने सन्दर्भमा छलफल हुनेछ । यसअघि कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भनिएका थियो ।

तर पदाधिकारी र पूर्व पदाधिकारीबीच शुक्रबार भएको बैठकमा महानगरपालिका मेयर र उपमेयरको भागबण्डामा सहमति नजुटेपछि बैठक आजका लागि सारिएको हो । शुक्रबार राति साढे ११ बजेसम्म बसेको बैठकमा पनि सहमति भएन ।

काठमाडौं महानगरपालिका प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएपनि ललितपुर र विराटनगरको विषयमा सहमति हुन सकेको छैन ।​

​काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले महानगरपालिका प्रमुख र उपप्रमुख गरी छ जना उम्मेदवार छान्ने छ । सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ ।

काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिँदै छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिने छ ।

केन्द्रीय संसदीय समितिले महानगरपालिकाका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने व्यवस्था छ । तर संसदीय समिति गठन नभएकाले यसपटक केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट महानगर उम्मेदवार चयन गर्ने तयारी काँग्रेसको छ ।

प्रतिक्रिया दिनुहोस