Latest News

जुम्लामा एकै परिवारका ४ बालबालिकाको ज्यान गयो, थप विवरण आउन बाँकी

Nepalese Times April 23, 2022 (2 Year ago)    417 Views

काठमाडौं । जुम्लामा घरमा आगलागी हुँदा चार बालवालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ । तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो।

आगलागीमा परि मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताएका छन् ।

मानसिंहका छोरीहरु ११ वर्षीया अनु सार्की र तीन वर्षीया दर्शना सार्की र एक वर्षीय छोरा दीपेश सार्कीको ज्यान गएको हो । यस्तै उनकी भान्जी १४ वर्षकी तिर्सना सार्कीको आगलागीमा परि ज्यान गएको प्रमुख प्रहरी नायव उपरीक्षक चन्दको भनाइ छ ।

शुक्रबार राति सवा ११ बजेतिर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीलाई पौने १२ बजे खबर पुगेको चन्दले बताएका छन् ।

घरमा लागेको आगो नियन्त्रण्मा लिईसकिएको छ। डिएसपी चन्दका अनुसार जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँसहितको टोली नै घटनास्थल पुगेको छ।

आगलागीबारे राति ११–४५ बजे जानकारी भएको भन्दै प्रहरी नायब उपरीक्षक चन्दले सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लिएको बताए ।

आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए। आगलागीबाट टिनले छाएको घरको तेस्रो तलासम्म पूर्ण रुपमा क्षति भएको डिएसपी चन्दले बताए ।

मानसिंह र उनका श्रीमति फागुनी, बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनीहरुको अवस्था सामान्य रहेको डिएसपी चन्दले बताए। आगलागीपछि उनीहरु बेहोस भएका थिए ।

मृतकहरुको शव पनि पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने भएको छ। आगलागी कसरी भयो भन्ने बारेमा सूचना प्राप्त नभएको डिएसपी चन्दले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस