Latest News

भरतपुरलाई देशकै नमुना बनाउन एमालेले सार्वजनिक गर्‍यो घोषणापत्र, के–के छन् प्रतिवद्धता ?

Nepalese Times April 22, 2022 (1 Year ago)    801 Views

चितवन । चितवनको भरतपसर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारमा सिफारिस भएका विजय सुवेदीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । नेकपा एमाले भरतपुर महानगरपालिका कमिटीले स्थानीय निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो।

एमालेले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छैन । तर विजय सुवेदीको नाम एकल रुपमा सिफारिस भएकाले उनलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।

भरतपुर महानगरपालिकाका लागि एमालेले २० वर्षे दीर्घकालीन गुरुयोजना बनाउने र भरतपुरलाई देशकै विकासित शहरको रुपमा विकास गर्ने दाबी गरिएको छ । भरतपुर विमानस्थनस्थलको स्थानान्तरणदेखि गौतमबुद्ध क्रिकेट रंगशालाको कामलाई पूर्णता दिनेसम्मका योजना एमालेले अगाडि सारेको छ ।

सबै जसो क्षेत्रलाई समेटेर एमालेले सर्वाजनिक गरेको गुरुयोजनामा भरतपुर–रामपुर–मेघौली तथा भरतपुर–गीतानगर–जगतपुर जस्ता महानगरका मुख्य रुटहरूमा ट्रली बस, ट्राम तथा सहरी रेल प्रणालीको सम्भाव्यताबारे अध्ययन गर्ने, भरतपुर विमानस्थललाई स्थानान्तरण गर्ने र उक्त स्थानलाई हरित क्षेत्र, उच्च प्रविधियुक्त व्यवसायिक क्षेत्र र खुला शहरी क्षेत्र ९टुँडिखेल० का रुपमा उपयोग गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्ने र उपयुक्त विकल्प कार्यन्वयन गर्न संघीय सरकारसँग समन्वय गर्ने एमालेको प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

नारायणी नदीमा रहेको हालको पुलको विकल्पमा सिग्नेचर पुल निमार्ण गर्न र सम्भाव्यताको अध्ययन गरी नवलपुरसँग जोड्ने गरी थप पुलको व्यवस्था मिलाउन समन्वय गर्ने, नदी किनारमा चौडा बाँध–सडक निर्माण गरी समग्र करिडोरमा आकर्षक र सुन्दर सहरी विकासका योजना मार्फत नारायणी तथा राप्ती नदी स्रोतको अधिकतम सदुपयोग गर्ने उल्लेख छ । ‘सुन्दर र समृद्ध भरतपुर’ कुनै चुनावी सपना मात्र नभई सही योजना र नेतृत्व हुँदा कार्यान्वयन गर्न सकिने एमालेको भनाइ छ ।

एमालेले भरतपुरका बहुआयमिक सम्भावना तथा अवसर रहेको बताउँदै नारायणी र राप्ती नदीको किनारमा रहेको भरतपुरमा व्यवस्थित शहरी विकास परियोजना बनाई अन्तर्राष्ट्रिय मापदण्डको समृद्ध सहर बनाउन सकिने जनाएको छ ।

प्रस्तावित पूर्व–पश्चिम रेल यातायातको केन्द्र, चीन र भारत बीच व्यापारिक कोरिडोरको रूपमा प्रस्तावित ठोरी केरुङ राजमार्ग निर्माण गरी क्रमिक रुपमा आर्थिक राजधानी तथा प्रमुख वातावरणमैत्री औद्योगिक व्यापारिक केन्द्रको रुपमा विकास गर्न सकिने एमालेले जनाएको छ ।

प्रतिवद्धता पत्रमा औद्योगिक, धार्मिक, शैक्षिक, स्वास्थ्य, र पर्यटनसमेतका क्षेत्रमा भरतपुरलाई सुन्दर समृद्ध मानवीय सहर बनाउन सम्भव भएको उल्लेख छ । नारायणी राप्तीको तटबन्धन गरी, तटीय आवास, तटीय सडक, हरियाली किनार, जलक्रीडा र जल यातायातको विकास गर्दै एकीकृत र बहुउद्देशीय विकास गर्न सकिने प्रतिवद्धता पत्रमा समेटिएका छन् । जापानको सहयोगमा अध्ययन भैसकेको सप्तगण्डकी बहुउद्देश्यीय परियोजना अगाडि बढाउन सकिने छ । एमालेले भरतपुलाई अध्ययन अनुसन्धान, सूचनाप्रविधि, इन्जिनीयरिङ, कला र गणित अध्ययन, साइन्स अध्ययन म्युजियमको व्यवस्था गरी विद्यावत सहरको रुपमा विकास गर्न सकिने जनाएको छ ।

एमालेले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आफूले गर्ने कामको प्रतिवद्धता मात्रै नभई पछिल्लो पाँच वर्षमा महानगरपालिकामा भएका विभिन्न गतिविधिप्रति प्रश्न उठाएको छ । एमालेले विगत ५ वर्षमा महानगरवासीले तिरेको स्थानीय करको कति सदुपयोग भयो रु भएन भने के कारणले हुन सकेन रु भन्ने प्रश्न उठाएको छ । एमालेले महानगरवासीका प्रत्यक्ष सरोकारसँग जोडिएका सबै वडाको बजेट विनियोजन न्यायोचित हुन सक्यो वा सकेन रु भन्ने प्रश्न पनि सोधेको छ । भरतपुरलाई महानगर घोषणा गरिसके पछि पनि शहरी विकासको हाम्रो परम्परागत शैलीमा कुनै फेरबदल आउन नसकेको टिप्पणी गरेको छ ।

व्यवस्थित शहर, मानवीय शहर, वातावरणीय शहर, शिक्षा, स्वास्थ्य, रोजगार र अवसरको प्रत्याभूति दिने शहरकोरुपमा भरतपुर महानगरलाई विकास गर्ने र त्यसका लागि महानगरले संघीय सरकार, प्रदेश सरकार, दातृ संस्थाबाट प्राप्त गरिने सहयोग, नागरिक समाज, संघ संस्था, उद्योगी व्यावसायी र जनसहभागितासँगको सहकार्यबाट कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।

एमालेको प्रतिवद्धतापत्रमा भरतपुर महानगरको शहरी विकासको २० वर्षे दीर्घकालीन गुरुयोजना, गुरुयोजनाको अधिनमा रही भौतिक विकासका क्षेत्रगत योजना, समग्र महानगरको सडक सञ्जालको योजना, खानेपानी तथा ढल निकासको योजना, वर्षाको पानी तथा बाढी निकासका लागि सञ्जाल ९नेटवर्क० को योजना, प्रमुख नयाँ बजार केन्द्र लगायत हरेक वडामा स्थानीय बजार केन्द्र विकासको योजना, खुला क्षेत्र र सार्वजनिक पार्क विकासको योजना, शिक्षा, स्वास्थ्य अन्य सामाजिक सेवा सुधारको योजना, पर्यटन विकास तथा सांस्कृतिक संरक्षणको योजना तय गर्ने उल्लेख गरेको छ ।

भरतपुरमा भइरहेको जथाभावी जग्गा प्लटिङलाई व्यवस्थित बनाउन निजी क्षेत्र मार्फत् व्यवसायिक तवरले जग्गा विकास (प्लटिङ) गर्दा सडक, खुल्ला क्षेत्र, पार्किङ, प्लटको न्यूनतम क्षेत्रफल लगायतका मापदण्ड निर्धारण गरी लागू गर्ने, समग्र महानगर क्षेत्रमा ‘ग्राउण्ड कभरेज’, ‘फ्लोर–एरिया–रेसियो’ लगायतका भवन निर्माणको मापदण्डको समीक्षा गरी उपयुक्त र व्यवहारिक मापदण्ड निर्धारण गर्ने, महानगरपालिकाले दक्ष आर्किटेक्ट र इन्जिनियरको परामर्शमा विभिन्न साइजका आवासीय भवनको आकर्षक र किफायती नमुना डिजाइन तयार गर्ने, इच्छुक नागरिकलाई सो नमूना अनुसारको भवन निर्माणको डिजिटल नक्सा निशुल्क उपलब्ध गराउने र सो को नक्सा पास एकै दिनमा हुने व्यवस्था मिलाउने एमालेले प्रतिवद्धता जनाएको छ ।

एमालेको प्रतिवद्धतापत्रमा सडक लगायत विभिन्न पूर्वाधारका लागि आवश्यक जग्गा सम्भव भएसम्म एकिकृत जग्गा विकास कार्यक्रममार्फत प्राप्त गर्ने, यसका लागि कुनै पनि जग्गा धनी मर्कामा नपर्ने सुनिश्चिताका लागि जग्गा सट्टा–पट्टा गर्न मिल्ने ‘ल्यान्ड बैंकिङ’ अवधारणालाई समेत लागू गर्न आवस्यक कानुनी व्यवस्था मिलाइने उल्लेख छ ।

समग्र महानगर क्षेत्रमा स्मार्ट सडक बत्तिको व्यवस्था गर्ने, समग्र महानगर क्षेत्र समेटेर सार्वजनिक यातायातको रुट निर्धारण गर्ने र सार्वजनिक यातायातका निजी सञ्चालकसँगको सहकार्यमा सुविधा सम्पन्न नगर बस सञ्चालन गर्ने उल्लेख छ ।

विज्ञहरूको संलग्नतामा महानगर स्तरीय स्वयम्सेवी योजना आयोग बनाउने, स्वयंसेवा गर्न चाहने स्वतन्त्र प्राज्ञहरूको बोर्ड गठन गर्ने, २९ वटै वडामा सबै प्रकारको सेवा उपलब्ध हुने गरी सेवा विस्तार र प्रशासनिक व्यवस्थापन मिलाइने प्रतिवद्धता पत्रमा राखिएका छन् । आधारभूत स्वास्थ्य उपचार सेवा निःशुल्क गराउन सबै परिवारलाई समेट्ने गरी स्थानीय स्वास्थ्य बीमा लागू गर्ने, क्यान्सर रोगको रोगथाम, उपचार, अध्ययन, अनुसन्धानको लागि वीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उत्कृष्ट प्रतिष्ठान तथा अन्कोलोजी शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा विकसित गर्न समन्वय र सहजीकरण गर्ने, बागेश्वरीमा रहेको प्राकृतिक चिकित्सा केन्द्रलाई विस्तारित गरी १०० सैयाको बनाउने प्रत्येक वडामा प्रसूति कक्ष, आवश्यक स्वास्थ्यकर्मीसहित न्यूनतम १५ शैयाको अस्पताल व्यवस्था गर्नेएमालेले उल्लेख गरेको छ ।शारदानगरमा महानगरीय अस्पताल स्थापना गर्ने एमालेको योजना छ ।

डिप बोरिङ प्रविधि व्यवस्थापनलाई विस्तार गरी २९ वटै वडामा शुद्ध खानी पानी आपूर्तिको व्यवस्था गर्ने, पर्यटकीय स्थल, धार्मिक सांस्कृतिक स्थल, हाट बजार क्षेत्र, बसपार्क तथा मानिसको आवागमन बढी हुने सार्वजनिक स्थलमा सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन गर्ने, फोहरमैला व्यवस्थापना ‘थ्री–आर’ (रिड्युस, रियुज र रिसाइकल० लगायतका वैज्ञानिक पद्धति अपाउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

विपन्न वा निरपेक्ष गरिब परिवारको पहिचान गरी अभिलेख तयार गरिनेछ । त्यसका आधारमा परिचय पत्र दिने र गरिबीको रेखा मुनिका नागरिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, यातयातमा विशेष सहुलियतको प्रवन्ध गरिनेछ ।

बेरोजगारी अवस्थाको तथ्याङ्क सङ्कलन, सूचना प्रणाली विकास एवं रोजगार सूचना केन्द्रको व्यवस्थापन गर्ने, निर्माण क्षेत्रमा अधिकतम रोजगारी सिर्जना हुनेगरी स्थानीय तहमा रोजगार कोष स्थापना र प्राविधिक व्यवसायिक तालिमको प्रवन्ध गर्ने प्रतिवद्धता एमालेले जनाएको छ ।

नारायणगढदेखि गोलाघाटसम्म नारायणी नदी किनारमा र गोलाघाटदेखि पटिहानीसम्म राप्ती नदीमा तटबन्ध गरी सडक, आवास, ग्रीन्बेल्ट, बिजुली लगायतका पूर्वाधार, जलयातायात, मनोरंजन लगायतका एकीकृत विकासको परियोजना तयार गरी निर्माण अगाडि बढाउने उल्लेख छ । चक्रपथ क्षेत्रमा पर्ने बजारहरूमा हरियाली पार्कहरू निर्माण गरिनेछ । भरतपुरको मुख्य बजार क्षेत्रलाई आधार मानेर भित्री चक्रपथ निर्माण गरिनेछ । चक्रपथहरूमा साइकल र फुटपाथ लेनको समेत व्यवस्था गरिनेछ । ती क्षेत्रमा सडकबत्ति राखिने छन् ।

महानगरपालिकाभित्रका सबै सडकहरू कालोपत्रेसहित स्ट्रिट फर्निचर राख्ने , बसपार्क चोक, हाकिमचोक, चौविस कोठी, वीरेन्द्र क्याम्पस आगाडी, सहिद चोक, पुल्चोक, पोखरा बसपार्क, बाइपास रोडको मालपोतचोक, नहर चोक, विशाल चोक लगायतका स्थानमा प्राथमिकता आधारमा क्रमशः आकाशेपुल निर्माण गर्ने योजना रहेको एमालेले उल्लेख गरेको छ ।

भरतपुरको वडा नं। १५ मा जिल्ला सहकारी संघको नाममा रहेको दुई बिगाहा दश कठ्ठा जमिनमा कृषि उपजको संकलन, भण्डारण, प्याकेजिंग र ब्राण्डिंग गर्ने काममा प्रयोग गर्न जिल्ला सहकारीसँग समन्वय र सहजीकरण गरिनेछ । त्यस्तै भरतपुर बसपार्कसँगै रहेको राष्ट्रिय सहकारी विकास बोर्डको करिब ३ विगाहा जग्गामा कृषि बजार प्रवर्धनकोलागि उपयोग गर्ने कार्यक्रमलाई अगाडि बढाउने, भूमिहिन मुक्त र छाप्रो मुक्त महानगर बनाउने, न्यूनतम र सुलभ विद्युत आपूर्ती लगायतको विद्युत व्यवस्थापनको लागि विद्युत व्यवस्थापन बोर्ड गठन गर्ने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

नारायणी लिफ्ट तथा खगेरी नहर प्रणालीलाई हिउँद÷वर्खामा सञ्चालन गरी सिंचाइ प्रणालीमा सुधार तथा कृषि उत्पादन वृद्धि हुने वातावरण मिलाउने, केरुङ खोला, पुंगी खोला, जलाधार समेत सामेल गरी भरतपुरको भित्री जलमार्ग विकास गर्ने, बस्तीबाट आउने ढल प्रशोधनपछि मात्रै खोला, नदीमा मिसाउने प्रवन्ध मिलाउने एमालेको प्रतिवद्धता पत्रमा छन् । नारायणी र राप्ती नदी किनारहरूमा पर्यटकीय होटल र होमस्टे निर्माण गर्न प्रोत्साहित गरिनेछ ।

पर्यटन गाइड तालिम, पर्यटन सूचना केन्द्रको व्यवस्था गर्ने, नारायणी नदी किनारमा रहेको नगर वनलाई आकर्षक पार्कसहितको मनोरञ्जनस्थलको रूपमा विकास गर्ने, महानगरभित्र रहेका ज्ञानेश्वर र सीतामाई लगायतका पिक्निक स्पोटहरूको स्तरोन्नति गर्ने, दासढुंगा, देवघाट, गोलाघाट हुँदै त्रिवेणीसम्म दिवा तथा रात्री जलयात्राको व्यवस्था, पर्यटन प्रवर्द्धनका लागि बाराको सिमरा र निजगढ, पोखरा, लुम्बिनी, विराटनगर, नेपालगञ्जसम्म सिधा हवाई सेवा सञ्चालनको पहल गर्ने एमालेका प्रतिवद्धता पत्रमा राखिएका छन् ।

व्यवस्थित सहरको मापदण्ड अनुकुल हुने गरी भरतपुर विमानस्थलको स्थानान्तरण वा वैकल्पिक व्यवस्थापन, मेघौली विमानस्थलको सञ्चालन जस्ता कामका लागि सम्भाव्यता अध्ययन गर्न समन्वय र सहजीकरण गर्ने, देवघाट क्षेत्रमा सार्वजनिक नीजी साझेदारी कार्यक्रम अन्तर्गत धर्मशालाको निमार्ण गर्ने उल्लेख गरिएको छ । कविलास चौकिडाँडा जस्ता चिसो स्थानलाई समर स्टेसनको रुपमा विकसित गर्ने योजना एमालेको प्रतिवद्धता पत्रमा राखिएका छ्न ।

युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान निर्माण, कवर्ड हल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था गरिनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्यमा भएको गतिरोध अन्त्यगरी निर्माण सम्पन्न गर्न विशेष अभियान चलाइनेछ र प्रदेश तथा संघीय सरकासँगको सहकार्य गरेर सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

मातृ शिशु कल्याण कार्यक्रम अन्तर्गत अस्पतालमा बच्चा जन्माउन आउने प्रत्येक सुत्केरी महिला र नवजात शिशुलाई आवश्यक औषधि, पोषण, लत्ताकपडा आदि निःशुल्क उपलब्ध गराउने, स्थानीय पूर्वाधार तथा सेवालाई अपांगता मैत्री बनाउने, असहाय तथा संरक्षकविहीन जेष्ठ नागरिकहरूका लागि मनोरञ्जनसहितको जेष्ठ नागरिक आवास केन्द्रको व्यवस्था गर्ने, महानगरका विभिन्न ठाउँहरूमा जेष्ठ नागरिक मिलन केन्द्र, मनोरञ्जन र आध्यात्मिक केन्द्रहरू स्थापना गर्ने प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

एमालेको प्रतिवद्धता पत्रमा न्यून आय भएका चेपाङ, थारू, दलित, बोटे, दराई लगायतका सीमान्तकृत वर्गका व्यक्तिहरूमा लगाइने करमा विशेष छुट दिने, कुनै पनि सरकारी नीति तथा आयोजनाले कुनै निश्चित समूहलाई अत्यधिक लाभ र अर्को समूहलाई अत्यधिक हानी हुने अवस्थामा लाभान्वित समूहसँग करको ‘लिने’ ९कर० तथा हानी पुगेको समूहलाई क्षतीपूर्तीको रुपमा ‘दिने’ पद्धतीको विकास गर्ने कुरालाई प्रतिवद्धता पत्रमा राखिएका छन् ।

भरतपुरलाई विभिन्न सेवा उद्योगहरूको हबको रुपमा विकास गर्न खास–खास ठाउँमा क्लस्टरयुक्त विकासका लागि ९जस्तो कि अस्पताल जोन, बैंकिङ जोन० महानगरले सहजीकरण गर्ने, शहरी पूर्वाधारमा हुने सरकारी लगानीको उल्लेख्य लाभ मूल्य वृद्धिको रुपमा वरपरका घर–जग्गामा जाने भएकोले त्यस्तो लाभको केही अंश स्थानीय सरकारले कर लगायतका विभिन्न माध्यमबाट फिर्ता लिने ‘भ्यालु–क्याप्चर’ पद्धतिलाई उपयुक्तताका आधारमा लागू गर्ने एमालेका मेयर उम्मेदवारका योजना छन् ।

वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका नागरिकको अभिलेख प्रणाली स्थापना गरी रोजगारदातालाई सूचना उपलब्ध गराउने र यस्ता सिपयुक्त नागरिकहरूको समुहलाई आफ्नै व्यवसाय सञ्चालनका लागि महानगरले सहजीकरण गर्ने उल्लेख छ ।

सार्वजनिक स्थलमा सर्वसुलभ इन्टरनेट सुविधाको पहुँच सुनिश्चित गर्ने,सुरक्षित र अपराध न्यूनिकरणका लागि पाँच वर्षभित्र सिसि क्यामरा सञ्जालमा जोड्ने, डिजिटल कनेक्टिभिटी, डिजिटल लिटरेसीको अभियान चलाउने प्रतिवद्धता पत्रमा समेटिएका छन् । पत्रकार महासंघ चितवनको समन्वयमा भरतपुरमा आवासीय पत्रकारिता प्रशिक्षण केन्द्र स्थापना गर्ने, विज्ञापनलाई स्थानीय सञ्चार माध्यमहरूमा समानुपातिक तवरले वितरण गर्ने व्यवस्था गर्ने उल्लेख छ ।

विपन्न तथा गरीवका लागि निःशुल्क कानूनी सेवा, मानव अधिकारको अवस्था बारेमा अनुगमन र कार्वाहीको व्यवस्था मिलाइने, महानगरमा रहेको कारागारलाई सुविधासम्पन्न सुधार गृहको रूपमा विकास गर्ने, त्यहाँ रहेका कैदीबन्दीलाई आयआर्जनका लागि आवश्यक सीप प्रदान गर्ने विषय प्रतिवद्धता पत्रमा राखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस