Latest News

रेनु दाहालले रुख चिन्ह लिएर चुनाव लड्नुपर्ने चितवन कांग्रेसको प्रस्ताव, के गर्ला माओवादी ?

Nepalese Times April 22, 2022 (1 Year ago)    4612 Views

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउने सत्ता गठबन्धनको औपचारिक निर्णय छ ।

भरतपुरको मेयर यो पटक पनि माओवादी केन्द्रले नै पाउने भएपछि चितवन कांग्रेसका नेता तथा कार्यकर्ताहरु भने आक्रोशित छ । उनीहरुले असन्तुष्टि जनाउँदै पार्टी सभापतिको कार्यकक्षमा तालासमेत लगाएका छन् ।

असन्तुष्ट पक्षले शुक्रबार साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता कार्यकर्ताहरू रुष्ट बनेका छन् ।

यसअघि जिल्ला सभापति पनि महानगरको मेयर नछाड्ने पक्षमा थिए । गठबन्धनको निर्णय भएपछि खनालले केन्द्रीय परिपत्र विपरीत गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

त्यसपछि झनै रुष्ट बनेका कांग्रेस कन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्व सांसद जगन्नाथ पौडेललगायतका नेताहरूले सभापति खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

जिल्ला पार्टी कार्यालयमा भएको भेला पश्चात उनीहरूले तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहालले पुनः उमेदवारी दिने भएकी छिन् ।

त्यसका लागि उनले शुक्रबार नै मेयरको पदबाट राजीनामा दिएकी छिन् । उनले उपमेयर पार्वती शाह ठकुरीसमक्ष राजीनामा दिएकी हुन् ।

भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा माओवादी केन्द्रलाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले एउटा नयाँ सर्त अघि सारेका छन् ।

रेनु दाहालले रुख चिह्नबाट चुनाव लड्ने हो भने छलफल गर्न सकिने पूर्व सांसद जगन्नाथ पौडेलले बताएका छन् । जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गर्दा कांग्रेस महासमिति सदस्य मिना खरेल, जिल्ला सह–सचिव गोपाल दराईलगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले भरतपुरको मेयरमा रेनु दाहाललाई सहयोग गरेको थियो । ५ वर्षअघि आफूहरुले सहयोग गरेकोले अहिले नेपाली कांग्रेसले मेयर पाउनुपर्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस