Latest News

प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई काठमाडौंको मेयर उम्मेदवार बनाउने बालुवाटार बैठकको निर्णय

Nepalese Times April 22, 2022 (1 Year ago)    840 Views

काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने औपचारिक निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो । बैठककाबीच सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबै सहमत भएका बताईन् ।

भोलि विहान ११ बजेसम्म औपचारिक निर्णय हुने र ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा भने मुख्यतः तीन जनाको नाममा छलफल भइरहेको उनले बताइन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट सिंहलाई काठमाडौं महानगरपालिकाको साझा उम्मेदवारी बनाउने निश्चित भएको नेपाली कांग्रेसका अर्का एक नेताले बताए । कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँच जना आकांक्षीको नाम सिफारिस गरेको थियो ।

बालुवाटार स्रोतका अनुसार काठमाडौं महानगरमा सिर्जनालाई प्रमुखको उम्मेदवार बनाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि नै बचन दिएका थिए ।

सत्ता गठबन्धनको बुधबारको बैठकले काठमाडौंसहित तीन महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउने औपचारिक निर्णय गरेपछि सिर्जनाको नाम अघि बढेको हो ।

गणेशमान र मंगलादेवी सिंह परिवारको सदस्य तथा आफ्नै राजनीतिक पृष्ठभूमिसमेत भएको महिलालाई उम्मेदवार बनाउँदा राम्रो सन्देश जान्छ भन्नेमा प्रधानमन्त्री यसअघि नै सकारात्मक रहेका थिए ।

काठमाडौंको आन्तरिक राजनीतिमा प्रकाशमान सिंहको भूमिका निर्णायक हुँदै आएको छ । १४ औं महाधिवेशनमा सभापति बन्न सिंहको निर्णायक भूमिका भएकाले देउवाले सिर्जनालाई प्रमुखको उम्मेदवार बनाएर त्यसको गुनसमेत तिर्न खोजेको कांग्रेस नेताहरू बताउँछन् ।

महाधिवेशनमा सिंह आफैं सभापतिका प्रत्याशी थिए । देउवासहित नेताहरू शेखर कोइराला, सिंह र विमलेन्द्र निधि चार जनाबीचको प्रतिस्पर्धामा ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा देउवा र कोइरालाबीच भएको प्रतिस्पर्धामा सिंह देउवाको पक्षमा लागेका थिए ।

गोरखा बजारमा जन्मिएकी सिर्जना २०४२ सालमा गणेशमान परिवारमा भित्रिएकी हुन् । तर, राजनीतिक संघर्षको यात्रा भने उनले गोरखाबाटै सुरुवात गरेकी थिइन् । २०३३ सालमा कांग्रेसको सदस्यता लिएकी उनी त्यही वर्ष गोरखाको महिला संघकी सभापति बनेकी थिइन् ।

पेसाले केही समय उनले नर्सिङ काम पनि गरिन् । नर्सिङ पढ्दापढ्दै समाजशास्त्र पढ्न थालिन् । स्नातक पढ्दै गर्दा शंकरदेव कलेजमा उनी स्ववियुको कोषाध्यक्ष भएकी थिइन् । त्यतिबेला उनीसँग हालकी ऊर्जामन्त्री रहेकी पम्फा भुसालले प्रतिस्पर्धा गरेकी थिइन् । सिर्जनाले पछि त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा एमए गरिन् ।

प्रजातन्त्र स्थापनाका लागि वाम गठबन्धनमा भएको ०४६ सालको आन्दोलनको नेतृत्व गणेशमानले गरेका थिए र चाक्सीबारी त्यसको मुख्य केन्द्र बनेको थियो । काठमाडौं महिला संघले चैत १४ मै सिर्जनाको नाम प्रस्ताव गरेको थियो । त्यसपछि काठमाडौंको तरुण दल र नेविसंघले उनको नाममा सहमति जनाएका थिए । सिर्जनाले पनि श्रीमान् प्रकाशमानबाट नभएर महिला संघबाट आफूलाई अघि बढ्न दबाब आएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस