Latest News

भरतपुरमा कांग्रेसको लफडा, कार्यकर्ताले सभापतिको कार्यकक्षमा लगाए ताला

Nepalese Times April 22, 2022 (2 Year ago)    602 Views

काठमाडौं । सत्तारुढ दलहरुबीच ६ वटै महानगरपालिकामा चुनावी भागबण्डा गर्ने औपचारिक सहमतिले नेपाली कांग्रेसमा तरंग पैदा भएको छ । सत्तारुढ दलका शीर्ष नेताहरुले सबै महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाटै भागबण्डा मिलाएसँगै नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट छन् ।

असन्तुष्ट कांग्रेसका केही नेताहरुले धमाधम पार्टी परित्याग गरिरहेका छन् भने केहीले बागी उम्मेदवारी दिने तयारीसहित छुट्टै भेला गर्न थालेका छन् । विशेषगरी नेपाली कांग्रेसभित्र शेखर कोइराला समूहका नेताहरु गठबन्धन गर्न नहुँने पक्षमा रहेका छन् ।

नेपाली कांग्रेसका नेता कोइरालासहित उपसभापतिन धनराज गुरु, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरु चुनावी तालमेलको विपक्षमा रहेका छन् । चुनावी तालमेलको विरोधमा भरतपुर महानगरपालिकाको मेयर नपाएपछि नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापतिको कार्यकक्षमा ताला लगाएका छन् ।

असन्तुष्ट नेताहरुले नारायणगढको कमलनगरमा रहेको पार्टी कार्यालयमा सभापति राजेश्व खनालको कार्यकक्षमा ताला लगाएका हुन् । सत्ता गठबन्धनले भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट नेताहरुले आजै विरोध कार्यक्रम आयोजना गरेका थिए।

विरोध कार्यक्रममा केन्द्रीय नेताहरु टेकप्रसाद गुरुङ, दिनेश कोइराला, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, जगननाथ पौडेल, पूर्व सभापति कृष्णलाल सापकोटा, तरुण दलका पूर्व जिल्ला अध्यक्ष शभ्मु अर्याल, कृषि तथा वन विश्वविद्यालयका पूर्व रजिस्टार श्रीकान्त घिमिरेलगायले सम्बोधन गरेका थिए।

वक्ताहरुले भरतपुरको मेयर कांग्रेस पाउनुपर्ने अडान राखेका थिए। उनीहरुले केन्द्रीय नेताहरुको निर्णयमा आपत्ति जनाउँदै सच्याउन आग्रह गरेका थिए।यस्तै नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर कमिटीका सभापति मनोज साहसहितका पदाधिकारीले सामूहिक राजीनामाको घोषणा गरेका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

कांग्रेस उपमहानगर सभापति साह, सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादवले सामूहिक राजीनामाको घोषणा गरेका हुन् । सत्ता गठबन्धनले गरेको भागबण्डामा जनकपुरधाम जसपाको भागमा परेपछि आक्रोशित बनेका उनीहरुले साधारण सदस्यसमेत नरहनेगरी सामूहिक पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीको उपमहानगर सभापति पदबाट राजीनामा दिएका साह मेयरका आकांक्षी थिए । उनले गठबन्धनको नाममा जनकपुरधाम जसपाले सुम्पेपछि पार्टीमा बस्ने अवस्था नरहेको बताए । तर नेतृत्वले अहिले पनि निर्णय सच्याए पार्टीमा फर्किने उनको भनाइ थियो ।

यस्तै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले नेपाली कांग्रेस परित्याग गरेका छन् । पार्टीले एकलौटी काम गरेको भन्दै उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् । जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले राजीनामा बुझाएका हुन् । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस