Latest News

कांग्रेस छाड्नेको लर्को, उपमहानगर सभापतिसहित सबै पदाधिकारीले दिए सामूहिक राजीनामा

Nepalese Times April 22, 2022 (1 Year ago)    756 Views

जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर कमिटीका सभापति मनोज साहसहितका पदाधिकारीले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

जनकपुरधाममा पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । कांग्रेस उपमहानगर सभापति साह, सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादवले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।

सत्ता गठबन्धनले गरेको भागबण्डामा जनकपुरधाम जसपाको भागमा परेपछि आक्रोशित बनेका उनीहरुले साधारण सदस्यसमेत नरहनेगरी सामूहिक पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीको उपमहानगर सभापति पदबाट राजीनामा दिएका साह मेयरका आकांक्षी थिए । उनले गठबन्धनको नाममा जनकपुरधाम जसपाले सुम्पेपछि पार्टीमा बस्ने अवस्था नरहेको बताए । तर नेतृत्वले अहिले पनि निर्णय सच्याए पार्टीमा फर्किने उनको भनाइ थियो ।

यस्तै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले नेपाली कांग्रेस परित्याग गरेका छन् । पार्टीले एकलौटी काम गरेको भन्दै उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले राजीनामा बुझाएका हुन् । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको आरोप छ ।

नगर सभापतिहरुले एकलौटीबारे आवाज उठाउँदा समेत बेवास्ता भएको भन्दै उनले इमान्दारीता, निष्ठा र विधानको कुनै महत्व रहेन छ भन्ने निष्कर्ष निकालेर राजीनामा दिएको बताउका छन् ।

लामो समयदेखि नेपाली काँग्रेसको राजनीति गर्दै आएका लम्साल दुई कार्यकाल क्षेत्रीय सभापति रहेका थिए । उनीसँगै नेपाली कांग्रेसका अरु नेता तथा कार्यकर्ताहरुले पनि पार्टी परित्याग गर्ने तयारी गरेका छन् ।

सत्तारुढ दलहरुबीच ६ वटै महानगरपालिकामा चुनावी भागबण्डा गर्ने औपचारिक सहमतिले नेपाली कांग्रेसमा तरंग पैदा भएको छ । सत्तारुढ दलका शीर्ष नेताहरुले सबै महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाटै भागबण्डा मिलाएसँगै नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट छन् ।

असन्तुष्ट कांग्रेसका केही नेताहरुले धमाधम पार्टी परित्याग गरिरहेका छन् भने केहीले बागी उम्मेदवारी दिने तयारीसहित छुट्टै भेला गर्न थालेका छन् । विशेषगरी नेपाली कांग्रेसभित्र शेखर कोइराला समूहका नेताहरु गठबन्धन गर्न नहुँने पक्षमा रहेका छन् ।

नेपाली कांग्रेसका नेता कोइरालासहित उपसभापतिन धनराज गुरु, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरु चुनावी तालमेलको विपक्षमा रहेका छन् । यस्तै चुनावी तालमेलको विपक्षमा नेता चन्द्र भण्डारी पनि रहेका छन् । उनले शुक्रबार एक स्टाटस पोष्ट गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र मतदाताहरुलाई अपमान नभई सम्मान गर्नुपर्ने बताउका छन् ।

प्रतिक्रिया दिनुहोस