Latest News

एमालेमा प्रवेश गर्नेको लर्को, माओवादीका २ पूर्वपोलिटब्युरो सदस्यसहित ६ जनालाई ओलीले गरे स्वागत

Nepalese Times April 22, 2022 (1 Year ago)    553 Views

नेकपा माओवादी केन्द्रका २ जना पूर्वपोलिटब्युरो सदस्यसहित ६ जना नेता नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माओवादीका ६ नेतालाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे।

माओवादी छाडेर एमाले प्रवेश गर्नेहरूमा पूर्व पोलिटब्युरो सदस्य एवम् केन्द्रीय सहकारी विभाग इन्चार्ज धर्मदत्त देवकोटा, पूर्वपोलिटब्युरो सदस्य एवम् वर्तमान विदेश विभाग सदस्य लक्की शेर्पा छन्। शेर्पा पहिले एमालेमै थिइन्।

उनी माओवादी कोटाबाट अस्ट्रेलियाका लागि नेपाली राजदूत र संविधान सदस्य भइसकेकी छन्। त्यस्तै कास्कीको लेखनाथ नगरपालिकामा मेयर भइसकेका वाम बुद्धिजीवी शालिकराम पौडेल पनि एमालेमा प्रवेश गरेका छन्।

माओवादीको केन्द्रीय सहकारी विभाग सदस्य सागर ढकाल, वामपन्थी बुद्धिजीवी डा. ल्हाक्पा शेर्पा र अर्का वाम बुद्धिजीवि कोष बहादुर जिसी पनि एमाले प्रवेश गरेका छन्।

उनीहरुले एमालेलाई नै तत्कालीन नेकपाको निरन्तरता भएको बताउँदै राष्ट्रको नेतृत्व गर्ने र देश र जनताको मनोभावना अनुसार राजनीतिक निकास दिन सक्ने एकमात्रै क्रान्तिकारी पार्टी रोजेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस