Latest News

बुटवलको उपमेयरमा एकीकृत समाजवादीबाट गुरूङ सिफारिस

Nepalese Times April 22, 2022 (1 Year ago)    551 Views

सत्तारूढ पाँच दलीय गठबन्धनको भागबण्डाबाट बुटवलको उपमेयर पाएको नेकपा एकीकृत समाजवादीले उपमेयरमा चीनबहादुर गुरूङलाई उम्मेदवार सिफारिस गरेको छ।

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीका अनुसार पार्टीको बुटवल उपमहानगरपालिकाका अध्यक्ष समेत रहेका गुरूङलाई उपमेयरमा सिफारिस गरिएको हो।

बुटवल वडा नं. ३ का बासिन्दा गुरूङ अघिल्लो निर्वाचनमा वडा सदस्य निर्वाचित भएका थिए। बुटवलमा रहेको यातायात मजदूर तथा व्यवसायी भलाई कोषको अध्यक्ष समेत भइसकेका गुरूङ तत्कालीन नेकपा एमालेभित्र यातायात मजदूरको फाँटमा रही काम गर्दै आएका थिए।

सत्तारूढ गठबन्धनबाट बुटवलको मेयर पद भने नेपाली कांग्रेसको भागमा परेको छ।

नेपाली कांग्रेसले नगर सभापति समेत रहेका खेलराज पाण्डेको नाम मेयरको उम्मेदवारमा सिफारिस गरेको छ। नगर समितिबाट पाण्डेको एकल नाम उम्मेदवारका लागि जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरिएको हो।

फरक/फरक दलबाट मेयर र उपमेयरका उम्मेदवार सिफारिस गरिएपछि गठबन्धनबाट बुटवलमा महिलाको प्रतिनिधित्व उम्मेदवार हुनबाट समेत रोकिएको छ।

यसअघि २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनमुक्ति पार्टीको गठबन्धनबाट मेयर र उपमेयर दुवै जना पुरूष उम्मेदवार बनेका थिए।

संविधानले स्थानीय तहमा प्रमुख र उपप्रमुखमा एक जना महिला अनिवार्य गर्नुपर्ने बाध्यकारी व्यवस्था गरे पनि गठबन्धनका कारण महिलाहरू उम्मेदवार बन्नबाट समेत बञ्चित भएका छन्।

अधिवक्ता हेमा बेल्बासे गठबन्धनका कारण यसपटकको निर्वाचनमा महिलाहरू उम्मेदवार बन्नबाट समेत बञ्चित हुनुपर्ने अवस्था सृजना भएको बताउँछिन्।

‘निर्वाचन कार्यालयले गठबन्धनलाई चिन्दैन,एउटा दलले मेयरमा र अर्को दलले उपमेयरमा पुरूषलाई उम्मेदवार बनाएपछि महिलाको प्रतिनिधित्व कसरी होला ?,’ उनले प्रश्न गरिन्।

प्रतिक्रिया दिनुहोस