Latest News

एकीकृत समाजवादीका यी मन्त्रीले आजै राजीनामा दिँदै

Nepalese Times April 22, 2022 (1 Year ago)    631 Views

काठमाडौं । मधेस प्रदेशसभा सदस्य एवं कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले राजीनामा दिने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका मधेस प्रदेशसभा सदस्य एवम् प्रदेशमन्त्री यादवले स्थानीय तहको चुनावमा नगरपालिकाको मेयरमा उम्मेदवारी दिनका लागि मन्त्री र सांसद पदबाट राजीनामा दिने भएका हुन् ।

उनले आसन्न स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका नेकपा एकीकृत समाजवादीका एक नेताले बताएका छन् ।

सिरहा नगरपालिकामा एमालेबाट नविन यादव उम्मेदवार बनेका छन् । उनी एमालेका पुराना नेता हेमनारायण यादवका छोरा हुन् । काँग्रेसले सिरहा नगरपालिकाकाको मेयरका लागि संजय यादवको नाम अघि सारेको छ ।

नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद एवम् मन्त्री यादवले नगरपालिकाको मेयरमा उम्मेदवारी दिनकचा लागि आजै मुख्यमन्त्री लालबाबु राउत समक्ष राजीनामा दिने तयारी गरेका छन् । सिरहा नगरपालिकाको मेयरका लागि नेकपा एकीकृत समाजवादीले उनको नाम सिफारिस गरेको छ ।

उनी चुनाव लड्न तयार छन् । वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता हुने भएकाले उम्मेदवारी दिने अवस्थामा आज या भोलिसम्म यादवले मन्त्री तथा प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुपर्नेछ ।

सिरहा नगरपालिकाका जनताको चाहना पनि प्रमोद यादव मेयरमा आओस् भन्ने रहेको भन्दै उनले आफूले यस विषयमा मतदातासँग पनि संवाद गरेको र सबैले नगरपालिकामा आउन भनेकोले यस्तो निर्णयमा पुगेको बताएका छन् ।

जसपाका मेयर अशेश्वर यादव यसअघिको स्थानीय चुनावमा ९ हजार २३४ मत ल्याएर सिरहा नगरपालिकामा विजयी भएका थिए भने एमालेका नविन यादवले ९ हजार ६३ मत ल्याएका थिए ।

अहिले एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनिसकेको छ । प्रमोद यादव नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयरमा उम्मेदवार बन्ने तरखरमा छन् । उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेबाट प्रदेशसभामा सिरहा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका थिए ।

सिरहा नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलको तयारी छ । नेकपा एकीकृत समाजवादीलाई मेयर र माओवादी केन्द्रलाई उपमेयर दिनेगरी तालमेलको तयारी भइरहेको माओवादी केन्द्रका नेता एवं मेयरका आकांक्षी महेश यादवको भनाइ छ ।

यद्यपि माओवादी केन्द्र सिरहा जिल्ला कमिटीले मेयरका लागि मनोज यादव र महेश यादवको नाम सिफारिस गरेको छ । पाँचदलीय गठबन्धनको विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन । सबै दल आआफ्नो तरिकाले अगाडि बढेपछि आफूहरु पनि नेकपा एकीकृत समाजवादीसँग गठबन्धन बनाएर चुनावमा जाने तयारीमा लागेको माओवादी केन्द्रका महेश यादवले बताए ।

प्रतिक्रिया दिनुहोस