Latest News

भरतपुरको मेयरमा बागी उम्मेदवारी दिने चितवन कांग्रेसका पूर्वसभापतिको घोषणा, छुट्टै भेलाको आयोजना

Nepalese Times April 22, 2022 (2 Year ago)    1383 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेनु दाहाल साझा उम्मेदवार बन्ने भएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ ।

भरतपुर महानगरपालिका यो पटक आफूहरुले पाउनुपर्ने औपचारिक निर्णय नै गरेको चितवन कांग्रेस केन्द्रको निर्देशनका कारण यतिबेला तनावमा रहेको नेपाली कांग्रेसका एक नेताले बताए ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीलाई सघाएर लगाएको पर्म यसपटक माओवादीले कांग्रेसलाई समर्थन गरेर तिर्नुपर्ने कांग्रेस नेताहरूले बताएपनि भरतपुरको साझा उम्मेदवार भने हालकी मेयर दाहाल नै बन्ने भएकी छिन् ।

पार्टी केन्द्रले माओवादीलाई मेयरमा समर्थन गरेकोले जिल्लामा युवाहरूले विद्रोह गर्नुपर्ने भन्दै कांग्रेस चितवनका पूर्वसभापति एवम् कांग्रेस चितवनका ‘टावर’ भनेर चिनिने कृष्णलाल सापकोटाले बागी उम्मेदवारीको घोषणा गरेका छन् ।

उनले भने, ‘यसपटक कुनै पनि हालतमा माओवादीलाई बोक्न हुँदैन, युवाहरू विद्रोह गर, पार्टी बचाउनुपर्छ, यदि तिमीहरू सक्दैनौं भने म मैदानमा उत्रिन्छु मलाई साथ देउ ।’ पार्टी भित्र सधैं ‘विद्रोही नेताको पर्याय’ बनाएका नेता सापकोटालाई जिल्लाका नेताले समेत आफूलाई मन लागेका तर बोल्ने नसकेको कुरा सापकोटाले बोलिदिए हुन्थ्यो भन्ने चाह राख्छन् ।

चितवनमा २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका सापकोटा त्यसअघि एकपटक पार्टी सभापति र बहुदल आएपछि २०४८ र २०५७ मा कांग्रेस चितवनको पार्टी सभापति भैसकेका छन् । उनी जिविस चितवनको पहिलो सभापति र जिविस महासंघको संस्थापक अध्यक्ष हुन् ।

वितेको पाँच वर्षमा कांग्रेसले कहिले कता कहिले कता भोट हाल्दा पार्टी संगठन क्षयीकरण भएको, पार्टी पंक्तिमा क्षमता भएका नेताहरू निरास हुन थालेकोमा आफू चिन्तित भएको बताए ।

२–४ महिना प्रधानमन्त्री हुनलाई पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस चितवनलाई माओवादी ‘बोक्न’ लगाएको बुझाइ उनको छ । कसैले गठबन्धन विरोधी भने पनि केही फरक नपर्ने नेता सापकोटा बताउँछन् । यसपटकको निर्वाचनमा कांग्रेसले महानगर मेयरमा माओवादीलाई समर्थन गर्न नसक्ने भन्दै उनले मेयरमा आफू बागी उम्मेदवारको रुपमा रहने घोषणा गरेका छन् ।

यस्तै भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई सर्मथन गर्ने निर्णयप्रति असन्तुष्ट नेपाली कांग्रेसका नेता कार्यकर्ताले भेला गर्ने भएका छन् ।नारायणगढको कमलनगरस्थित जिल्ला पार्टी कार्यालयमा शुक्रबार दिउँसो २ बजेका लागि भेला आह्वान गरिएको कांग्रेसका एक नेताले बताए । भेलामा भरतपुर महानगरपालिकाको मेयर छाड्ने केन्द्रको निर्णयबारेमा छलफल गरेर अब कसरी अगाडि बढ्ने भनेर योजना बनाइने बताइएको छ ।

भेलामा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला समेतलाई बोलाइएको छ । गुरुङ र कोइराला दुबै कांग्रेसले महानगरको मेयर पाउनुपर्ने पक्षमा आवाज उठाउँदै आएका नेता हुन् । केन्द्रीय सदस्य कोइरालाले कार्यकर्ताको कुरा सुन्न पार्टी कार्यालयमा जाने बताए ।

 

प्रतिक्रिया दिनुहोस