Latest News

कांग्रेसले प्रकाशमान पत्नी सिर्जनालाई काठमाडौं महानगरको मेयर उठाउने, औपचारिक घोषणाको तयारी

Nepalese Times April 22, 2022 (1 Year ago)    902 Views

काठमाडौं । राजनीतिक घटनाक्रमले नयाँ मोड नलिएमा नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहलाई साझा उम्मेदवार बनाउने भएको छ ।

सत्तारुढ गठबन्धनको तर्फबाट सिंहलाई काठमाडौं महानगरपालिकाको साझा उम्मेदवारी बनाउने निश्चित भएको नेपाली कांग्रेसका एक नेताले बताए । कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँच जना आकांक्षीको नाम सिफारिस गरिसकेको छ ।

त्यसरी सिफारिस भएको नाम प्रदेश हुँदै केन्द्रमा जाने र केन्द्रीय कार्यसमितिअन्तर्गत बन्ने संसदीय समितिले महानगरको उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।

संसदीय समिति गठन भएका कारण यसपटक केन्द्रीय कार्यसम्पादन समिति बैठकले महानगर उम्मेदवार चयन गर्ने नेपाली कांग्रेसले तयारी गरेको छ । बालुवाटार स्रोतका अनुसार काठमाडौं महानगरमा सिर्जनालाई प्रमुखको उम्मेदवार बनाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि नै बचन दिइसकेका छन् ।

सत्ता गठबन्धनको बुधबारको बैठकले काठमाडौंसहित तीन महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउने औपचारिक निर्णय गरेपछि सिर्जनाको नाम अघि बढेको हो । त्यसका लागि शुक्रबार कांग्रेसले बैठक बोलाएको छ ।

ठूलै बदलाब नआए सिर्जना नै उम्मेदवार हुने करिब निश्चित भएको प्रधानमन्त्रीनिकट एक नेताले बताएका छन् । गणेशमान र मंगलादेवी सिंह परिवारको सदस्य तथा आफ्नै राजनीतिक पृष्ठभूमिसमेत भएको महिलालाई उम्मेदवार बनाउँदा राम्रो सन्देश जान्छ भन्नेमा प्रधानमन्त्री सकारात्मक रहेका उनले बताए ।

काठमाडौंको आन्तरिक राजनीतिमा प्रकाशमान सिंहको भूमिका निर्णायक हुँदै आएको छ । १४ औं महाधिवेशनमा सभापति बन्न सिंहको निर्णायक भूमिका भएकाले देउवाले सिर्जनालाई प्रमुखको उम्मेदवार बनाएर त्यसको गुनसमेत तिर्न खोजेको कांग्रेस नेताहरू बताउँछन् ।

महाधिवेशनमा सिंह आफैं सभापतिका प्रत्याशी थिए । देउवासहित नेताहरू शेखर कोइराला, सिंह र विमलेन्द्र निधि चार जनाबीचको प्रतिस्पर्धामा ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा देउवा र कोइरालाबीच भएको प्रतिस्पर्धामा सिंह देउवाको पक्षमा लागेका थिए ।

गोरखा बजारमा जन्मिएकी सिर्जना २०४२ सालमा गणेशमान परिवारमा भित्रिएकी हुन् । तर, राजनीतिक संघर्षको यात्रा भने उनले गोरखाबाटै सुरुवात गरेकी थिइन् । २०३३ सालमा कांग्रेसको सदस्यता लिएकी उनी त्यही वर्ष गोरखाको महिला संघकी सभापति बनेकी थिइन् ।

पेसाले केही समय उनले नर्सिङ काम पनि गरिन् । नर्सिङ पढ्दापढ्दै समाजशास्त्र पढ्न थालिन् । स्नातक पढ्दै गर्दा शंकरदेव कलेजमा उनी स्ववियुको कोषाध्यक्ष भएकी थिइन् । त्यतिबेला उनीसँग हालकी ऊर्जामन्त्री रहेकी पम्फा भुसालले प्रतिस्पर्धा गरेकी थिइन् । सिर्जनाले पछि त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा एमए गरिन् ।

प्रजातन्त्र स्थापनाका लागि वाम गठबन्धनमा भएको ०४६ सालको आन्दोलनको नेतृत्व गणेशमानले गरेका थिए र चाक्सीबारी त्यसको मुख्य केन्द्र बनेको थियो ।

काठमाडौं महिला संघले चैत १४ मै सिर्जनाको नाम प्रस्ताव गरेको थियो । त्यसपछि काठमाडौंको तरुण दल र नेविसंघले उनको नाममा सहमति जनाएका थिए । सिर्जनाले पनि श्रीमान् प्रकाशमानबाट नभएर महिला संघबाट आफूलाई अघि बढ्न दबाब आएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस