Latest News

भरतपुर मेयरको टिकट माओवादी केन्द्रले पाएपछि चितवन कांग्रेसले दियो कडा निर्देशन

Nepalese Times April 22, 2022 (1 Year ago)    684 Views

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरकको टिकट माओवादी केन्द्रको भागमा परेसँगै नेपाली कांग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ।

जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार सामाजिक सञ्जालमार्फत गठबन्धन विरोधी गतिविधि नगर्न भन्दै कार्यकर्तालाई निर्देशन दिएका हुन्। प्रेस विज्ञप्तिमार्फत केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै पनि भेला, छलफल, गोष्ठी नगर्न र नगराउन उनका प्रेस सहयोगी आशिष अधिकारीले बताएका छन् ।

‘गठबन्धनलाई नकरात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै गतिविधि नगर्न आग्रह गर्दछु,’ सभापति खनालको निर्देशनपछि अधिकारीले लेखेको विज्ञप्तिमा भनिएको छ, ‘चितवन कांग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अघि बढ्छ।’

सभापति खनालले केन्द्रीय परिपत्रअनुसार चितवन कांग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अगाडि बढ्ने पनि उल्लेख गरेका छन्। यस्तै कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले पार्टीको निर्णयविपरीत कोही पनि जान मिल्ने बताए।

उनले केन्द्रीय कार्यसमितिले गरेको निर्णय अक्षरशः पालना गर्नु हरेक क्रियाशील सदस्यको कर्तव्य भएको पनि बताए। उपसभापति न्यौपानेले निर्णय गर्नुअघि आ–आफ्नो धारणा दिन पाइने भए पनि पार्टीले निर्णय गरिसकेपछि कोही पनि निर्णयभन्दा बाहिर जान नमिल्ने जिकिर गरे।

यस्तै जनकपुरधाम उपमहानगरपालिका जसपाले पाउने भएसँगै नेपाली कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् । सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम जसपाले पाएसँगै नेपाली कांग्रेसका असन्तुष्ट नेताहरुले सामूहिक राजीनामा दिने भएका हुन् ।

असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका र उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्ने कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहले बताए ।

नगर सभापति साह नेता विमलेन्द्र निधि समूहका हुन् । नेता निधिले समेत सत्ता गठबन्धनले जनकपुरधामका मेयर जसपालाई दिएको निर्णयमा असन्तुष्टि जनाइरहेका छन् । निधिकै सल्लाहमा सभापति साह लगायतका नेताहरु राजीनामा दिन लागेको स्रोतको दाबी छ ।

पार्टीबाट राजीनामा दिएर पत्रकार सम्मेलनमै साहले मेयरमा स्वतन्त्रबाट उठ्ने घोषणा पनि गर्ने उनीनिकट एक नेताले बताए । साह गत स्थानीय तहको निर्वाचनमा झण्डै १० हजार मतान्तरले पराजित भएका थिए ।
जनकपुरधामको मेयरमा निर्वाचित मेयर लालकिशोर साह अहिले जसपामा छन् ।

यस्तै केन्द्रमा सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय गर्दैगर्दा नुवाकोटमा भने नेपाली कांग्रेस मास्न पाइदैन भन्ने अभियान नै सुरू भएको छ ।

केन्द्रमा कुन महानगरपालिका र उपमहानगरपालिकामा कसलाई साझा उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय नै भएको समयमा नुवाकोटमा भने कांग्रेसका असन्तुष्ट नेताहरुले गठबन्धनको विरोधमा अभियान नै सुरु गरेका हुन् ।

नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टी कार्यालयमा व्यानर नै टाँगेर ‘कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिँदैन’ भन्ने अभियान सुरू गरेका हुन् ।कांग्रेस जिल्ला कार्यालयको मुलगेटमा व्यानर राखिएको छ । केही कार्यकर्ताले भोलिदेखि पार्टी कार्यालयमा तालाबन्दी नै गर्ने तयारी समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस