Latest News

मेयरको टिकट अर्कै दललाई दिएपछि कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने

Nepalese Times April 22, 2022 (1 Year ago)    724 Views

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका जसपाले पाउने भएसँगै नेपाली कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम जसपाले पाएसँगै नेपाली कांग्रेसका असन्तुष्ट नेताहरुले सामूहिक राजीनामा दिने भएका हुन् ।

असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका र उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्ने कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहले बताए ।

नगर सभापति साह नेता विमलेन्द्र निधि समूहका हुन् । नेता निधिले समेत सत्ता गठबन्धनले जनकपुरधामका मेयर जसपालाई दिएको निर्णयमा असन्तुष्टि जनाइरहेका छन् । निधिकै सल्लाहमा सभापति साह लगायतका नेताहरु राजीनामा दिन लागेको स्रोतको दाबी छ ।

पार्टीबाट राजीनामा दिएर पत्रकार सम्मेलनमै साहले मेयरमा स्वतन्त्रबाट उठ्ने घोषणा पनि गर्ने उनीनिकट एक नेताले बताए । साह गत स्थानीय तहको निर्वाचनमा झण्डै १० हजार मतान्तरले पराजित भएका थिए ।

जनकपुरधामको मेयरमा निर्वाचित मेयर लालकिशोर साह अहिले जसपामा छन् । यस्तै केन्द्रमा सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय गर्दैगर्दा नुवाकोटमा भने नेपाली कांग्रेस मास्न पाइदैन भन्ने अभियान नै सुरू भएको छ ।

केन्द्रमा कुन महानगरपालिका र उपमहानगरपालिकामा कसलाई साझा उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय नै भएको समयमा नुवाकोटमा भने कांग्रेसका असन्तुष्ट नेताहरुले गठबन्धनको विरोधमा अभियान नै सुरु गरेका हुन् ।

नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टी कार्यालयमा व्यानर नै टाँगेर ‘कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिँदैन’ भन्ने अभियान सुरू गरेका हुन् ।कांग्रेस जिल्ला कार्यालयको मुलगेटमा व्यानर राखिएको छ । केही कार्यकर्ताले भोलिदेखि पार्टी कार्यालयमा तालाबन्दी नै गर्ने तयारी समेत गरेका छन ।

पार्टीका जिल्ला सभापति रमेशकुमार महत पार्टी भन्दा बढी गुट चलाएको भन्दै कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ । जसको असर तल शुभेच्छुकसम्म पुगेको छ ।

अहिले कांग्रेस एक हुनुपर्ने बेलामा झण्डै ५० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने समूहलाई बाहिर पुर्याएर जनाधार निकै कमजोर भएको माओवादी र एकीकृत समाजवादी बोक्न खोजेको भन्दै अधिकांश नेता कार्यकर्ताले सामाजिक सञ्जालको प्रयोग गर्दै बिरोध जनाइरहेका छन । उनीहरूले नुवाकोटमा गठबन्धन गर्नुभनेको कांग्रेस अर्को २० वर्षपछि पुग्नु हो भन्दै माओवादीको संगत छाड्नुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस