Latest News

काठमाडौं महानगरको मेयरमा एमालेले टुंगो लगायो उम्मेदवार, औपचारिक घोषणाको तयारी

Nepalese Times April 22, 2022 (2 Year ago)    1017 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले उम्मेदवारको पक्कापक्की गरेको छ । बिहीवार बसेको बैठकले काठमाडौंको मेयरमा केशव स्थापितलाई उठाउने विषयमा सबै नेताहरु सहमत भएका छन् ।

स्थापितलाई काठमाडौंको मेयरमा स्थापितलाई एमालेको तर्फबाट उम्मेदवार बनाउनेबारे सहमति जुटिसकेको भएपनि उनी नै आधिकारिक उम्मेदवार भएको औपचारिक घोषणा भने गर्न बाँकी छ ।

भोली १० गते शनिवारकाने बैठकले उनलाई उम्मेदवारको औपचारिक घोषणा गर्ने तयारी भएको नेकपा एमालेका एक नेताले बताए । स्थापित पहिलेदेखि नै एमालेका प्रभावशाली नेताको रुपमा गनिदै आएका छन् ।

यसअघि नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि केशव स्थापितसहित पाँच जनाको नाम सिफारिस गरेको थियो । एमाले काठमाडौं महानगर कमिटीले पूर्व मेयर तथा वाग्मती प्रदेश सरकारका मन्त्री समेत बनिसकेका स्थापितसहितका नेतालाई मेयरमा सिफारिस गरिएको थियो ।

स्थापितसँगै हालका मेयर विद्यासुन्दर शाक्य, पूर्व मन्त्री रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्तको नाम बैठकले मेयरको उम्मेदवारको लागि सिफारिस गरेको थियो । उपमेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा र निना काफ्लेको नाम सिफारिस गरिएको छ । सिफारिस गरिएका नामबाट पार्टी केन्द्रले महानगरको प्रमुख र उपप्रमुखको टुङ्गो लगाउने छ ।

स्थापित यसअघि २०५४ सालमा नै काठमाडौंको मेयर भएका थिए । २०५४ सालमा मेयर बनेर चर्चामा आएका स्थापितले काठमाडौंको रुपरेखा सुधारका लागि आफूसँग ‘मास्टरमाइन्ड योजना’ भएको बताउँदै केही दिनअघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेट गरेका थिए । पछिल्ला दिनमा एमाले नेतृत्व मेयर शाक्यसँग त्यति खुसी नभएको र नगर कमिटीबाट नै सिफारिस भएकाले एमालेले स्थापितलाई मेयरको उम्मेदवारका रुपमा अगाडि सार्न लागेको हो ।

पाँच दलको गठबन्धनबाट काठमाडौंमा मेयरको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट सिर्जना सिंह मेयरको उम्मेदवार हुने निश्चित जस्तै भएको छ । उनैलाई टक्कर दिनका लागि पनि बलियो उम्मेदवार चाहिने भएकोले स्थापितलाई उम्मेदवार बनाउने तयारी भएको एमाले स्रोतले जनाएको छ । केशव स्थापित काठमाडौँ महानगरपालिकाका पूर्व नगर–प्रमुख हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर–टहराहरू भत्काइएका थिए।

केशव स्थापित राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयर मनोनित भए। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका नवौँ सदस्य सचिव थिए। उनले २०५१ सालदेखि २०५२ सालसम्म त्यस पदमा रहेर काम गरेका थिए।

उनलाई सरकारले २०६९ सालमा काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त गरेको थियो। नौ महिना नबित्दै उनलाई पदमुक्त गरेको थियो। आयुक्त काठमाडौँ उपत्यकाका पूर्वमेयर केशव स्थापित विसं २०१६ मा काठमाडौँमा जन्मिएका हुन्।

यसअघि महानगरपालिका पूर्वमेयर स्थापितले मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल भएको बताएका थिए । सामाजिक सञ्जालमार्फत उनले विद्यासुन्दरलाई आफूले काँधमा बोकेर जिताए पनि अपेक्षाअनुरुप काम गर्न नसकेको भनेपछि चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस