Latest News

विराटनगरको मेयरमा डिला संग्रौलालाई साझा उम्मेदवार बनाउने देउवाको तयारी

Nepalese Times April 21, 2022 (2 Year ago)    802 Views

काठमाडौं । सत्तारुढ दलहरुबीच बसेको बैठकले ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका भागबण्डाको सहमति गरेको छ ।

सत्तारुढ दलका शीर्ष नेताहरुबीच कुन महानगर र उपमहानगर कसको भागमा भन्ने टुंगो लगाएसँगै अब ति महानगर र उपमहानगरपालिकामा कसले टिकट पाउलान् भन्ने आम चासो बढेको छ ।

भोलिसम्ममा उम्मेदवारको टुंगो लगाउने गरी दलहरू छलफलमा जुट्दै गर्दा कांग्रेसको बलियो प्रभाव रहेको विराटनगरमा डिला संग्रौलाको चर्चा चल्न थालेको छ। उनलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि विराटनगरको साझा उम्मेदवार बनाउने वचन दिइसकेका स्रोतले जनाएको छ ।

विराटगरबाट यसपटक केन्द्रीय राजनीतिक प्रभाव भएकी डा. डिला संग्रौला, केन्द्रीय सदस्य अमृत अर्याल, मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चौलागाईं र प्रदेश समिति सदस्य गोपाल रेग्मी सिफारिसमा परेका छन् ।

तर यसपटक महानगरमा मेयरमा उम्मेदवारको लागि डा संग्रौला सबैभन्दा बलियो उम्मेदवार रहेको बताइन्छ । पार्टी केन्द्रमा पनि राम्रो पहुँच भएकी, सक्रिय र अनुभवी नेता भएकोले पनि डिलाको सम्भावना बढी भएको बताइन्छ ।

लगातार सांसद भए पनि डिलालाई पार्टीले अहिलेसम्म मन्त्री बनाएको छैन । १४ औं महाधिवेशनमा सहमहामन्त्रीको दाबेदार भए पनि डिलालाई रोकिएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाले कुनै राम्रो भूमिका दिनेभन्दै डिलालाई मनाएका र अहिले विराटनगरको मेयर पदको साझा उम्मेदवार बनाउने कसरतमा रहेको स्रोतले जनाएको छ ।

महिला संघको अध्यक्ष हुनुबाहेक डिलाले कुनै कार्यकारी पद नपाएकोले पनि यसपटक आफ्नै बलियो पकड रहेको क्षेत्रबाट उनैलाई मेयरको उम्मेदवार बनाउने सम्भावना धेरै रहेको बताइन्छ । डिलालाई संस्थापन र इतर दुवै पक्षको साथ छ ।

उनी आफैं पनि आफू मेयरका लागि सक्षम र योग्य रहेको बताउँछिन् । यो पटक पार्टीको स्थानीय तहमा आएर सेवा गर्नुपर्छ भन्ने भएर आफूले मेयरमा आकांक्षा राखेको भन्दै उनले आफू यो पदका लागि योग्य र सक्षम रहेको बताएकी छिन् ।

पार्टीले मेयर दिए विराटनगरवासीले आफूलाई जिताउने र महानगरलाई नमूना बनाउने योजना र क्षमता आफूसँग भएको उनले दाबी गरेकी छिन् । बलियो सम्भावना संग्रौलाको भए पनि मेयरका लागि भीम पराजुली र अमृत अर्याल पनि उत्तिकै दाबेदार हुन् । तीनमध्ये पराजुली र अर्याल विराटनगरमा नै बसेर राजनीति गरेका नेता हुन् ।

संग्रौलाको घर विराटनगर भए पनि उनी केन्द्रीय राजनीतिमा बढी सक्रिय रहँदै आएकी छिन् । तर उनी नियमितजसो विराटनगर पुग्ने गरेकी छिन् । उनको बढी समय विराटनगरमा नै बित्ने गरेको छ । विराटनगरमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका भीम पराजुली ५७१० मतान्तरले विजयी भएका थिए । पराजुलीले २३०३१ मत ल्याएका थिए ।

विराटनगर महानगरको मेयरमा कांग्रेस र उमपेयरमा जसपाका उम्मेदवार साझा उम्मेदवारको रुपमा हुनेछन् । मेयर र उपमेयर दुवैमा माओवादीका उम्मेदवार हुने छैनन् । गत निर्वाचनमा विराटनगरमा एमाले र लोकतान्त्रिक फोरम मिलेका थिए ।

माओवादी र जनअधिकार फोरम मिलेका थिए । कांग्रेसले मेयर उपमेयर दुवैमा जित्दा जनअधिकार फोरमसँग मिलेको माओवादीले उपमेयरमा ११५२४ मत ल्याएको थियो ।

एमालेसँग मिलेको लोकतान्त्रिक फोरमको कांग्रेससँग एकीकरण भइसकेको छ । उपेन्द्र यादवको जसपा पनि सत्ता गठबन्धनमा छ । यस्तोमा विराटनगरमा गठबन्धनलाई हराउन एमालेलाई निक्कै कठिन हुने देखिएको छ ।

एमालेसँग मिलेर उपमेयरमा उम्मेदवारी दिँदा लोकतान्त्रिक फोरमले १० हजार मत ल्याएको थियो । राप्रपाले ५ हजार ५ सय मत ल्याएको थियो । यसपटक जसपा पनि विभाजित छ ।

प्रतिक्रिया दिनुहोस