Latest News

भ्रातृ संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ – शेखर कोइराला

Nepalese Times April 21, 2022 (2 Year ago)    609 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को ५३औँ वार्षिकोत्सवका अवसरमा नेविसङ्घ उपत्यका क्याम्पस एकाइले बुधबार यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसङ्घको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तरक्रियामा उनले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

“हामी के कारणले कम्युनिष्टसँग मिलेर निर्वाचनमा जान खोजिरहेका छौँ, कांग्रेस एक्लै लड्यो भने पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ”, डा कोइरालाले भने । उनले कांग्रेसलाई कुनै शक्तिको बैसाखी टेक्नु नपर्ने अवस्था रहेको उल्लेख गरे । उनले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै विद्यार्थी लाग्नुपर्ने बताए । नेविसङ्घलाई पूर्णता दिएमात्र कांग्रेस बलियो हुने उनको भनाइ थियो ।

कांग्रेस उपसभापति धनराज गुरुङले नेविसङ्घको भविष्यलाई अँध्यारोमा राखेर कांग्रेसको भविष्यमा उज्यालो खोज्न नहुने बताए । उनले पार्टीको वैचारिक धरातललाई थाँती राखेर प्राविधिक धरातल खोज्न जाँदा पार्टी सङ्कटमा पर्ने भन्दै यसप्रति कांग्रेस नेतृत्व सजग हुनुपर्ने बताए ।

“कांग्रेस बचाउनका लागि बाहिर धामीझाँक्री खोज्नुभन्दा नेविसङ्घ बचाउन जरुरी छ”, उनले भने । उनले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन भरमग्दुर प्रयत्न गर्नुपर्ने बताए । कांग्रेसलाई तालमेलले भन्दा पनि एजेन्डाले जिताउनुपर्ने उनको भनाइ थियो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनलगत्तै नेविसङ्घ केन्द्रीय कार्यसमितिले पूर्णता पाउने बताए । “नेविसङ्घको वर्तमान कार्यसमितिले नै निर्वाचन गर्छ”, उनले भने ।

महामन्त्री थापाले कांग्रेसले आफ्ना मतदाता बढाउने गरी सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए । “विगतमा बनेका सरकार हेर्दा पनि कम्युनिष्टसँग गठबन्धन गर्दा भरपर्दो देखिँदैन, कम्युनिष्ट पार्टीको गठबन्धनमा कांग्रेस सरकार बन्ने प्रवृत्तिको अन्त्यका लागि कांग्रेसले सङ्गठन विस्तार गर्नुपर्छ”, उनले भने । कांग्रेस सङ्गठनलाई बलियो बनाउने गरी कांग्रेसको सङ्गठन विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पर्यटन, कृषि र जलविद्युत्को माध्यमबाट देशको आर्थिक विकास गर्नका लागि कांग्रेस प्रतिबद्ध भएर लाग्नुपर्ने बताए। नेविसङ्घले मुलुकमा कम्युनिष्ट प्रवृत्तिको अन्त्यका लागि लड्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले म्याद सकिएका सबै भ्रातृ संस्थालाई यथाशक्य चाँडो पूर्णता दिने बताए । “निर्वाचनमा कांग्रेसले भ्रातृ संस्थालाई चलायमान बनाउन नसक्नु दुःखद हो”, उनले भने ।

सहमहामन्त्री परियारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीले स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने भनी स्थानीय तहलाई तालमेलको अधिकार दिएको भन्दै सोहीअनुसार कांग्रेस अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले नेविसङ्घको इतिहास जोगाउने जिम्मा विद्यार्थीको काँधमा आएको बताइन् । पार्टीले नेविसङ्घको कार्यसमितिलाई चाँडो पूर्णता दिनुपर्ने उनको भनाइ थियो ।

कांग्रेस नेता डा मीनेन्द्र रिजालले कांग्रेस एकजुट भए कुनै शक्तिले हराउन नसक्ने बताए । राजनीतिमा भविष्य हेरेर गठबन्धन गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेस नेता गुरुराज घिमिरेले अहिलेको गठबन्धनलाई अन्तिम बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले नेविसङ्घ लगायतका भ्रातृ संस्थालाई चाँडै पूर्णता दिन नेतृत्वलाई आग्रह गरे ।

नेविसङ्घका पूर्वअध्यक्ष केशव सिंह, रञ्जित कर्ण, पूर्वमहामन्त्री मनोजमणि आचार्य, पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदी, पूर्वकोषाध्यक्ष शिव रिमाल, पूर्वकेन्द्रीय सदस्य मोतिलाल भण्डारी, नेविसङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसका सभापति पुस्कर बाँस्तोलालगायतले नेविसङ्घलाई वर्तमान पार्टी नेतृत्वले बुझ्न नसक्दा नेविसङ्घ कमजोर बन्दै गएको बताए । रासस

प्रतिक्रिया दिनुहोस