काठमाडौं । केन्द्रमा सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय गर्दैगर्दा नुवाकोटमा भने नेपाली कांग्रेस मास्न पाइदैन भन्ने अभियान नै सुरू भएको छ ।
केन्द्रमा कुन महानगरपालिका र उपमहानगरपालिकामा कसलाई साझा उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय नै भएको समयमा नुवाकोटमा भने कांग्रेसका असन्तुष्ट नेताहरुले गठबन्धनको विरोधमा अभियान नै सुरु गरेका हुन् ।
नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टी कार्यालयमा व्यानर नै टाँगेर ‘कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिँदैन’ भन्ने अभियान सुरू गरेका हुन् ।कांग्रेस जिल्ला कार्यालयको मुलगेटमा व्यानर राखिएको छ । केही कार्यकर्ताले भोलिदेखि पार्टी कार्यालयमा तालाबन्दी नै गर्ने तयारी समेत गरेका छन ।
पार्टीका जिल्ला सभापति रमेशकुमार महत पार्टी भन्दा बढी गुट चलाएको भन्दै कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ । जसको असर तल शुभेच्छुकसम्म पुगेको छ ।
अहिले कांग्रेस एक हुनुपर्ने बेलामा झण्डै ५० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने समूहलाई बाहिर पुर्याएर जनाधार निकै कमजोर भएको माओवादी र एकीकृत समाजवादी बोक्न खोजेको भन्दै अधिकांश नेता कार्यकर्ताले सामाजिक सञ्जालको प्रयोग गर्दै बिरोध जनाइरहेका छन । उनीहरूले नुवाकोटमा गठबन्धन गर्नुभनेको कांग्रेस अर्को २० वर्षपछि पुग्नु हो भन्दै माओवादीको संगत छाड्नुपर्ने बताएका छन ।