Latest News

सत्ता गठबन्धनले सातै प्रदेशमा चुनावी आमसभा गर्ने, कहाँ कहिले ? (सूचीसहित)

Nepalese Times April 21, 2022 (2 Year ago)    1832 Views

सत्ता गठबन्धनले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी आमसभा गर्ने भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

उक्त सभाहरूलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्ने गठबन्धनले जनाएको छ । निर्णयअनुसार वैशाख १८ गते धनगढीमा आमसभा हुनेछ भने सोही दिन सुर्खेतमा पनि हुनेछ ।

यस्तै वैशाख १९ गते बुटवल र पोखराका साथै २० गते विराटनगर र जनकपुरमा हुनेछ । यसैगरी २२ गते काठमाडौंमा आमसभा हुनेगरी कार्यक्रम बनाइएको संयन्त्रका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए ।

साथै बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको उनको भनाइ छ ।

गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिने गुरुले बताए । बुधबार मात्र गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिका चुनावी तालमेलका लागि सिट बाँडफाँट टुङ्ग्याएका थिए ।

यस्तै, देशभर रहेका ६ वटा महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि मिलाएको छ । कांग्रेसलाई तीन र अरुलाई एक एकवटा महानगरको भागवण्डा गरिएको छ ।

सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा टिकट सुनिश्चित गरेको छ । यस्तै पोखराको मेयर निश्चित गरेको नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

सहमतिअनुसार ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन् भने बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।

प्रतिक्रिया दिनुहोस