Latest News

काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट प्रकाशमान पत्नीसहित ५ जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

Nepalese Times April 21, 2022 (1 Year ago)    835 Views

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिले काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) का आकांक्षीहरुको नाम सिफारिस गरेको छ।

कार्यसमितिले बिहीबार महानगर प्रमुखका लागि ५ जना र उपप्रमुखका लागि २ जनाको नाम सिफारिस गरेको नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिका एक नेताले बताए ।

महानगर प्रमुखमा नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनियर सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफरिस भएको छ ।

शाक्य महानगर कार्यसमिति सभापति, सिंह नेपाल महिला संघ काठमाडौंकी प्रमुख सल्लाहकार, वैद्य महानगर कार्यसमिति सचिव, खड्गी महानगरकी वर्तमान उपप्रमुख र रञ्जित महानगर कार्यसमिति सभापतिका प्रतिस्पर्धी हुन्।

महानगर कार्यसमितिले उपप्रमुखमा सुशीला ढकाल र प्रा.डा. अमित प्रधान शाक्यको नाम सिफारिस गरेको महानगर उपसभापतिद्वय पुरुषोत्तम खकुरेल र सन्तकुमार महर्जनले जानकारी दिएका छन्।

काठमाडौं महानगरपालिकाको मेयरका लागि ५ जनाको नाम सिफारिस भए पनि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई मेयर बनाउन चाहेका छन् ।

पार्टीको १४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले लगाएको गुन तिर्नका लागि भए पनि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सिंहलाई गठबन्धनको साझा उम्मेदवा बनाउन चाहेका हुन् । उनले सिर्जनाको नाम सर्वसम्मत बनाउन सत्ता गठबन्धनको बैठकमासमेत नाम पेस गरेका थिए ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा देउवासहित कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएको माओवादी केन्द्रका एक नेतालेसमेत खुलासा गरेका छन् ।

महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था रहेको र सिर्जना सिंह कांग्रेसको काठमाडौंको मेयर हुने कुना निश्चित जस्तै भएको नेपाली कांग्रेसका एक नेताले बताए ।

सिंहले भित्र भित्र मेयरको तयारी गरे पनि बाहिर भने मुख खोलेकी थिइनन् । महिलासंघ र नेविसंघ काठमाडौं समितिले सिंहलाई मेयरमा उठ्न दबाब दिएका थिए । सिंहले बाहिर मुख नखोले पनि उनी आफ्नो पक्षमा वातावरण बनाउन लागिरहेको नेविसंघका एक नेता बताउँछन् ।

सिंहले सक्रिय राजनीति २०३६ सालदेखि सुरु गरेकी थिइन् । २०३६ सालमा सिंह गोरखाको महिला संघको अध्यक्ष बनेकी थिइन् । त्यसपछि ०३८ सम्मको अवधिमा सिंह महावौद्ध क्याम्पसमा नेविसंघको इकाइ सभापति बनेकी थिइन् । सोही वर्ष शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनबाट कोषाध्यक्ष बनिन् ।

२०४६ साल पश्चात् खुला राजनीति सुरु भएपछि सिंहले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकी थिइन् । ‘२०४६ साल पछि पार्टीमा पद लिइनँ तर स्वास्थ्यको क्षेत्रमा धेरै काम गरें’, उनले भनिन् । महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार उनी २०४६ पश्चात् निरन्तर छन् ।

 

प्रतिक्रिया दिनुहोस