Latest News

सभापति देउवाले बोलाए काँग्रेस शीर्ष नेताहरूको बैठक, यस्ता छन् एजेन्डा

Nepalese Times April 21, 2022 (2 Year ago)    562 Views

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् ।

बैठकमा नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएको स्रोतले जनाएको छ । बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका लागि बैठक बोलाएका हुन् । काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ । देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर टिकट वितरणको तयारी थालेका हुन् ।

त्यस्तै सत्ता गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बिहीबार बिहान बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

सातै प्रदेशका चुनावी सभामा पाँच दलीय गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।

साथै बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको गुरुङको भनाइ छ ।

गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिने गुरुले बताए । बुधबार मात्र गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिका चुनावी तालमेलका लागि सिट बाँडफाँट टुङ्ग्याएका थिए ।

प्रतिक्रिया दिनुहोस