Latest News

सत्ता गठबन्धनको बैठक सकियो, यस्तो छ महत्वपूर्ण निर्णय

Nepalese Times April 21, 2022 (2 Year ago)    636 Views

काठमाडौं । सत्ता गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बिहीबार बिहान बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

सातै प्रदेशका चुनावी सभामा पाँच दलीय गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।

साथै बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको गुरुङको भनाइ छ ।

गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिने गुरुले बताए । बुधबार मात्र गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिका चुनावी तालमेलका लागि सिट बाँडफाँट टुङ्ग्याएका थिए ।

यस्तै, देशभर रहेका ६ वटा महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि मिलाएको छ । कांग्रेसलाई तीन र अरुलाई एक एकवटा महानगरको भागवण्डा गरिएको छ ।

सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा टिकट सुनिश्चित गरेको छ । यस्तै पोखराको मेयर निश्चित गरेको नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

सहमतिअनुसार ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन् भने बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।

प्रतिक्रिया दिनुहोस