Latest News

भरतपुर महानगर माओवादी केन्द्रको भागमा परेपछि चितवन कांग्रेसका नेताहरु कसले के भने ?

Nepalese Times April 21, 2022 (1 Year ago)    589 Views

काठमाडौं । विवाद र चर्चामा रहेको भरतपुर महानरपालिका माओवादीलाई दिने सत्ता गठबन्धनको निर्णयपछि चितवन कांग्रेसले अब के गर्ला भन्ने आम चासो रहेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याउने क्रममा भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको उम्मेदवारलाई साझा उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

निर्णय लगत्तै भरतपुर महानगरपालिकाको मेयरमा फेरि दोहोरिन चाहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पुत्रीसमेत रहेकी रेनु दाहालको चहलपहल बढेको छ ।

सत्ता गठबन्धने केन्द्रबाट नै भरतपुर माओवादीलाई दिने औपचारिक निर्णय गरेलगत्तै नेपाली काँग्रेसका नेता–कार्यकर्ताहरुले भने फरक–फरक धारणा सार्वजनिक गरेका छन् ।

महानगरको मेयरमा दाबी गर्दै आएको काँग्रेस उपमेयरमा सीमित हुने भएपछि एउटा पक्षले केन्द्रमा भएको सहमति पालन गर्नुपर्ने बताउँदै आएको छ भने अर्को पक्षले असन्तुष्टि जनाउँदै विद्रोह गर्नेसम्मको चेतावनी दिइरहेको छ ।

सत्तारुढ गठबन्धन घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने केन्द्रको निर्देशन पालना गर्नु सबैको दायित्व हुने बताउँदै आएका छन् ।

भरतपुरको मेयरमा पार्टीको निर्णय नमान्ने कार्यकर्ता हुनै नसक्ने नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोण शिवाकोटीको भनाइ छ । केन्द्रले गरेको निर्णय र निर्देशन पालना गरेर गठबन्धनमा भागबण्डा भएअनुसारका उम्मेदवारलाई जिताउन सबै दलका आम कार्यकर्ता र मतदाता लाग्नुपर्ने उनको तर्क छ ।

काँग्रेसबाट मेयर पदका आकांक्षी रहेका चित्रसेन अधिकारीले पार्टीको निर्देशन सबैले मान्नु पर्ने भन्दै पार्टीले दिएको निर्देशन मान्दिनँ भन्न कसैलाई पनि छुट नरहेकाले त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

भागबण्डाको विषयमा निर्णय नहुँदासम्मको अवस्थामा काँग्रेसले आन्तरिक संघर्ष गरेर केन्द्रलाई दबाब दिनु उचित भए पनि निर्णय भइसकेपछि त्यसलाई स्वीकार गरेर कार्यान्वयनमा जानुपर्ने उनको तर्क छ ।

भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसबाट आकांक्षी रहेका दिनेश कोइरालाले भरतपुरमा माओवादी केन्द्रले नेतृत्व पाउन र चुनावमा काँग्रेसको समर्थनको प्रयासका लागि षड्यन्त्र भइरहेको बताए । उनले भरतपुरको मेयरमा माओवादी केन्द्रलाई समर्थन गरेर काँग्रेसले कार्यकर्ताहरुलाई घात गर्न नसक्ने बताए ।

भरतपुरका जनताको चाहना र काँग्रेस चितवन तथा महानगरपालिकाका २९ वटै वडा समितिहरुले मेयर पदमा नेपाली काँग्रेसकै उम्मेदवार माग गरेको स्मरण गर्दै उनले सोही निर्णय अनुसार काँग्रेसले उम्मेदवारी दिनुपर्ने विचार व्यक्त गरे ।

पार्टीका तल्लो समितिले गरेका निर्णयलाई केन्द्रले काट्न नमिल्ने उनको भनाइ छ । काँग्रेस देशकै अगुवा पार्टी भएकाले केन्द्रकै निर्णय तल्लो तहमा लाद्ने काम गर्न नहुने उनले बताए ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका चितवन अध्यक्ष कृष्णराज पन्तले गठबन्धन दलका कार्यकर्ताबीच भागबण्डा र उम्मेदवारीका बारेमा मतभेद हुनु सामान्य भएको भन्दै सबै पार्टीभित्र रहेका कार्यकर्ताको आफ्नै इच्छा चाहना हुने भएकाले त्यसलाई जटिल रुपमा हेर्न नहुने बताए ।

भरतपुरका सबै दलका कार्यकर्ता र आम मतदाताले अहिलेको परिस्थिति र गठबन्धनको आवश्यकता बुझेकाले निर्वाचनमा समस्या नहुने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस