Latest News

चितवनका ६ पालिकामा गठबन्धनको भागबण्डा मिल्यो, सबैधन्दा धेरै कांग्रेसलाई कुन–कुन पालिका ?

Nepalese Times April 21, 2022 (1 Year ago)    3918 Views

काठमाडौं । सत्ता गठबन्धनले भरतपुर महानगरपालिकासहित चितवनका अरु पालिकामासमेत भागबण्डा मिलाएको छ । सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने भएपछि अरु पालिकामा पनि भागबण्डाको खाका तयार गरेको हो ।

सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका हुन् । जसअनुसार कांग्रेसले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पाउने भएको छ ।

कांग्रेसले रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख पाउने मोटामोटी सहमति भएको नेपाली कांग्रेस चितवनले जनाएको छ ।

यस्तै, माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने भएका नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए ।

चितवनको भरतपुर महानगरपालिकाको साझा उम्मेदवार माओवादी केन्द्रको बनाउने केन्द्रबाटै सत्ता गठबन्धनले निर्णय गरिसकेको छ । भरतपुरमा केन्द्रले प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसले पाउने गरी सहमतिभएसँगै अरु पालिकाको पनि सहमतिको खाका तयार गरिएको हो ।

कांग्रेसले भरतपुरबाहेक माडी, राप्ती र इच्छाकामनाको उपप्रमुख पाउने छ । यस्तै समाजवादीले रत्ननगरको उपप्रमुख पाउनेछ ।

माओवादीले खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउनेछ । कांग्रेसको भागमा परेको कालिका, रत्ननगर र खैरहनी यसअघि एमालेले जितेका पालिका हुन् ।

इच्छाकामना गाउँपालिकाको उपप्रमुखमा माओवादीले दाबी गरिरहेको छ । तर कांग्रेसले यसअघि गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेकाले केन्द्रीय नीति अनुसार अरुलाई छाड्न नसकिने जनाएको छ ।

यस्तै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले लिने मोटामोटी सहमति भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालको भनाइ छ ।

बिहीबार पुनः बैठक बसेर पालिकाहरुको भागबन्डालाई औपचारिक रुपमा टुंगो लगाउने नेताहरुले बताएका छन् । पालिकाको नेतृत्व टुंगो लगाएपछि वडाहरुमा समेत भागबन्डा गरेर सहमतिमा पुग्ने उनीहरुको भनाइ छ । उम्मेदवारमा सहमति जुटाएर संयुक्तरुपमा चुनाबी प्रचारमा जाने तयारीमा उनीहरु रहेका छन् ।

चितवनमा सत्ता गठबन्धन दलहरुको समिति बनाइएको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा चुनावी तालमेल र सिट बाँडफाँट समिति बनेको हो ।

समितिमा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा समाजवादीका इन्चार्ज कृष्ण खनाल, जसपाका अध्यक्ष प्रेम भुजेल, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी, नेकपा माओवादी केन्द्रका यमबहादुर परियार, नेकपा समाजवादीका सूर्यप्रसाद शर्मा र नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस